२०८१ साउन १२ गते | 27th of July 2024

पोखराको मतगणना अन्यौलमै

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते ७:५१

पोखरा, ६ जेठ ।
शनिबार साँझदेखि रोकिएको पोखराको मतगणना अझै सुरु हुन सकेको छैन । फर्जी मतको आरोप लगाउँदै पार्टीका एजेण्टहरु बाहिरिएपछि शनिबार साँझ ४ बजेदेखि पोखरामा मतगणना हुन सकेको छैन । मतगणना सुरु गर्नका लागि पटक पटक बसेको सर्बपक्षिय बैठक समेत निष्कर्ष विहिन भयो ।
शनिबार राती नै पहिलो बैठक बसेको थियो । तर निर्वाचन आयोगका प्रतिनिधीले सही रुपमा सहजीकरण गर्न नसकेपछि बैठकबाट कुनै टुंगो लाग्न सकेन र आईतबार बिहानका लागि बैठक स्थगीत भयो । तर आईतबार बसेको बैठक पनि बिना निष्कर्ष टुंगियो ।
बैठकबाट बाहिरिँदै गरेका कास्की काँग्रेसका सभापति कृष्ण केसीले १७ नम्बर वडाको विवाद समाधान नभएसम्म कुनैपनि वडाको मतगणना गर्न नदिने बताए । ‘विवाद सिर्जना गर्नु हाम्रो रहर हैन, उनले भने–समस्या आईसकेपछि समाधानका लागि आयोग जिम्मेवार हुनुपर्छ ।’
नेकपा माओबादी केन्द्रका कास्की अध्यक्ष दिपक कोइरालाले विवाद समाधानका लागि आयोग जिम्मेवार नभएको आरोप लगाए । उनले केन्द्रिय आयोगको निर्देशन पछि मात्रै बैठकमा छलफल गर्ने बताए ।
१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलका एजेण्टहरुले बताएका छन् । फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको थियो । फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै एमाले वाहेकका दलले विरोध जनाएका छन् ।
एमालेले यसबारे केहि प्रतिक्रिया दिएको छैन । निर्वाचन आयोगले पनि यसबारे बोल्न चाहेको छैन । प्रयोग गरिएको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताए । ‘२०७० सालमा प्रयोग गरिएको जस्तो छाप देखिएको छ । अहिलेको छाप यस्तो छैन, उनले भने–आयोगले केही ठाउँमा पहिले कै छाप पठाएको भन्ने पनि सुनिएको हो । हामी बुझ्दै छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *