२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा मतगणना-तत्काल गणना थाल्न आयोगको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते १२:१८

पोखरा, ७ जेठ ।
निर्वाचन आयोगको केन्द्रिय कार्यालयले पोखरा १७ मा खसेका सबै मत सदर गरेर गणना गर्न निर्देशन दिएको छ । फर्जी मतको आरोप लगाउँदै एमाले बाहेकका राजनीतिक दलले अवरोध गरेपछि शनिबार साँझदेखि मतगणना रोकिएको थियो । पटक पटक सर्वपक्षीय बैठक बसेपनि निष्कर्ष निस्किन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई समस्या समाधानका लागि पत्र पठाएको थियो । पत्रको सुनुवाई गर्दै आयोगले फरक प्रकृतिका स्वस्तिक छाप प्रयोग हुन सक्ने भएकाले मतगणना सुरु गर्न आदेश दिएको हो ।
निर्देशनात्मक पत्र पाएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले मतगणनाको तयारी गरेको छ । यसका लागि सूचना जारी गर्ने तयारी भैरहेको छ । यद्यपी यसबारे बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्ण भने सम्पर्कमा आउन चाहेका छैनन् ।
‘निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्र हुवहु भएकाले स्वस्तिक चिन्हकै कारण मतगणना रोक्न मिल्दैन, पत्रमा भनिएको छ–तत्काल मतगणना सुरु गर्नु ।’ कांग्रेस कास्कीका सभापति कृष्ण केसीले यो बिषयमा दलहरुलाई जानकारी नभएको बताए । उनले सर्वपक्षीय बैठकमा छलफल गरेर निर्णय गर्ने बताए । ‘एउटा मतदानस्थलमा दुईवटा स्वस्तिक छाप प्रयोग हुँदा कानुनी मान्यताप्रति मात्रै प्रश्न उठाएका हौं, उनी भन्छन्–हामीलाई चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’
ठूलो आकारको स्वस्तीक छाप लागेको मतपत्र मान्य नहुने भन्दै मतगणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले बिरोध जनाएपछि गणना रोकिएको हो । सूर्य चिन्हमा त्यस्तो छाप भेटिएको हो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।
३३ वटा वडा रहेको महानगरका शुक्रबारसम्म १५ वडासम्मको मतगणना सकिएको छ । १६, १७ र १८ वडाको मतगणना भइरहेकोमा विवादपछि रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *