एजेन्सी – संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयले साउदी अरेबिया सरकारका कटु आलोचक पत्रकार जमाल खशोग्गी बेपत्ता भएको घटनाको सम्बन्धमा साउदी अरेबियाले जवाफहरू दिनुपर्ने बताएको छ। अमेरिकी विदेशमन्त्री पोम्पेओ तथा साउदी नेताहरूबीच रियादमा भएको भेटवार्तापछि अमेरिकी विदेशमन्त्रालयको त्यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्रालयका अनुसार दुवै पक्षले विस्तृत, पारदर्शी तथा समयभित्रै छानबिन गर्नेमा सहमति जनाएका छन्।
सोमवार नै साउदी राजा सलमानले खशोग्गी बेपत्ता प्रकरण सम्बन्धी छानबिन गर्न आदेश दिएका थिए। दुई हप्ताअघि इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास प्रवेश गरेयता खशोग्गी बेपत्ता छन्। टर्कीका विदेशमन्त्रीले संवाददाताहरूलाई छानबिनको दायरा फराकिलो पारिदैँ इस्तानबुलस्थित साउदी महावाणिज्य दूतको निवास पनि छानबिनअन्तर्गत ल्याइने निर्णयबारे जानकारी दिएका थिए।
टर्कीस्थित सूत्रहरूका अनुसार खशोग्गी अन्तिम पटक देखिएको दिन कुटनीतिक नम्बर प्लेट भएका गाडीहरू इस्तानबुलस्थित साउदी महावाणिज्य दूतवासबाट साउदी महावाणिज्य दूतको निवासतर्फ गएको देखिएका थिए। टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले महावाणिज्य दूतावासभित्र साउदी अधिकारीहरूले प्रमाण लुकाउन रंगरोगन गरिएको संकेतहरू टर्कीका अनुसन्धानकर्ताहरूले भेटाएको बताएका छन्।