काठमान्डौं – ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ…’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दशैँमा दर्शकको मन जित्न सफल भएको हो ।
यही अवधिमा प्रदर्शन भइरहेको अर्काे नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घण्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घण्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ । सामाजिक यथार्थलाई जीवन्त र हास्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल (मल)मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो । दुवै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुवै चलचित्र हेर्न छोडेनन् । बिदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि यी दुई चलचित्र चलेका देखिन्छन् ।