२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा मतगणना अन्यौलमै

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते २:०२

प्रकाश ढकाल
पोखरा, ८ जेठ ।
निर्वाचन आयोगको निर्देशनपछि पोखरामा रोकिएको मतगणना सुरु गर्ने भनिएपनि सोमबार विहानसम्म गणना हुन सकेको छैन । एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेर मुख्य निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरा १७ मा फर्जि मतको आरोप लगाउँदै अवरोध गरेपछि शनिबार साँझदेखि गणना रोकिएको हो । पटक पटक सर्वपक्षीय बैठक बसेपनि निष्कर्ष निस्किन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई समस्या समाधानका लागि पत्र पठाएको थियो । पत्रको सुनुवाई गर्दै आयोगले फरक प्रकृतिका स्वस्तिक छाप प्रयोग हुन सक्ने भएकाले मतगणना सुरु गर्न आदेश दिएको थियो । निर्देशनात्मक पत्र पाएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले मतगणनाको तयारी गरेको थियो । तर सर्वदलिय बैठकमा अरु दलहरुले स्वस्तिक छापको बिषयमा कुरा उठाएपछि मुख्य निर्वाचन अधिकृतले स्पष्ट जवाफ दिन सकेनन् ।
‘निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्र हुवहु भएकाले स्वस्तिक चिन्हकै कारण मतगणना रोक्न मिल्दैन, पत्रमा भनिएको छ–तत्काल मतगणना सुरु गर्नु ।’ सोही निर्देशनलाई टेकेर गणना थाल्ने भनिएपनि राजनीतिक अवरोधका कारण पोखराको मतगणना अन्यौलमा छ । ‘कानुनलाई दुरुपयोग गरेर फर्जि मतपत्र गन्ने अधिकार आयोगलाई छैन । मतपत्र सही हो भने हामीलाई प्रमाण चाहिन्छ, माओबादी कास्कीका अध्यक्ष दिपक कोइरालाले भने–यही अवस्थामा मतगणना हुन सक्दैन । हामी बहिष्कार गर्छौं ।’ उनले चित्तबुझ्दो जवाफ नदिए पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
आयोगको आदेशलाई पनि अटेर गरेर एमाले बाहेकका दलले गणना हुन दिएका छैनन् । ‘एउटै निर्वाचनमा फरक स्वस्तिक छाप प्रयोग हुँदैन । प्रयोग भैहालेपनि सबै स्वस्तिकको मुचुल्का उठाउनुपर्छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीले भने–फरक छापको मुचुल्का देखाए हामी गणनामा अवरोध गर्दैनौं । यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ ।’ सांसद तथा काँग्रेस नेता यज्ञ बहादुर थापाले कानुनलाई नै हथकडी लगाएर आयोगले जबरजस्ती गर्न खोजेको आरोप लगाए । ‘मतगणना रोक्ने कसैको पनि नियत छैन । तर आयोगले हाम्रो प्रश्नको जवाफ किन दिन खोजिरहेको छैन ?, उनले भने–कानुनको पालकले कानुनलाई हातमा लिनु स्वभाविक होईन । यसले दुर्घटना निम्त्याउन सक्छ ।’ उनले पार्टीगत समस्या नभएको भन्दै आयोग जिम्मेवारीका साथ प्रश्तुत हुनुपर्ने बताए ।
एमाले अध्यक्ष कृष्ण थापाले मतगणना रोक्न नमिल्ने बताए । उनले सहज रुपमा गणनाको वातावरण बनाएर नतिजा स्विकार गर्न आग्रह गरे । यथासक्य छिटो भन्दा छिटो मतगणना गरेर नतिजा सार्वजनिक गर्नुपर्ने उनको माग छ । एमाले नगर संयोजक तेजनारायण अधिकारीले सत्तारुढ दलबाटै चुनावमा अबरोध गर्नु स्वभाविक नभएको प्रतिक्रिया दिएका छन् । ‘वहाँहरुकै सरकार छ । चुनावमा सघाउनुपर्ने वडाँहरुले नै हो, उनले भने–झन् अबरोध गर्दा सन्देश राम्रो जाँदैन । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो । ३३ वटा वडा रहेको महानगरमा शनिसम्म १५ वडासम्मको मतगणना सकिएको छ । १६, १७ र १८ वडाको मतगणना भइरहेकोमा विवादपछि रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *