महेन्द्रनगर – निर्मला पन्तको बलात्कारपछि हत्या काण्ड अनुसन्धानमा लापरबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठीको टिमलाई पनि बर्खास्त गर्न माग उठेको छ । उखुबारीमा शव फेला परेको दिन कञ्चनपुरका तत्कालीन प्रहरी नायब उपरीक्षक सेठीको उपस्थितिमा प्रमाण नष्ट भएको र केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी जिसीले अनुसन्धानमा लापरबाही गरेको भन्दै आफन्तले बर्खास्त गर्नु पर्ने माग राखेका हुन् । निर्मलाका अभिभावक र अधिकारकर्मीले घटनामा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्ट मात्रै दोषी नभई अनुसन्धानमा संलग्न सबै प्रहरीले लापरबाही गरेकाले उनीहरुमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
शव फेला परेको दिन निर्मलाको सुरुवाल पखाल्नेदेखि निर्दोष दिलिप बिष्टलाई फसाउन उनको घरबाट कमिजको खल्ती च्यातेर ल्याउन लगाउने प्रहरीलाई कानुनी दायरामा नल्याएसम्म दोषी पत्ता नलाग्ने अधिकारकर्मीको भनाई छ । उनीहरूले घटनालाई तोडमोड गर्न दुई प्रहरीलाई मात्रै बर्खास्ती गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् । अधिकारकर्मी माया नेगीले सिआइबीका डिएसपी जिसी र सेठीलाई पनि बर्खास्ती गर्नुपर्ने बताइन् । घटनाको अनुसन्धान गर्न १३ साउन कञ्चनपुर आएको सिआइबी टोलीका प्रमुख जिसीले दिलिपलाई फसाउन कमिजको खल्ती च्यातेर ल्याएको उनले बताइन् ।
निर्मलाका बाबु यज्ञराज पन्तले शव फेला परेको दिन अनुसन्धानमा खटिएका डिएसपी सेठी, सिआइबीका डिएसपी जिसी र घटना स्थलबाट शव छाडेर आउने प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई कारबाही गर्नु पर्ने बताए । उनले छोरीका हत्यारा बचाउन निर्दोषलाई फसाउन खोजेको र घटना स्थलमा प्रमाण नष्ट गर्न सुरुवाल पखाल्न लगाएको बताए । महिला अधिकारकर्मी एव नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मीना भण्डारीले अपराधी लुकाउन र प्रमाण नष्ट गर्न अनुसन्धानमा खटिएका सबै प्रहरी लागिपरेको आरोप लगाइन् । उनले तिहारसम्म दोषी सार्वजनिक नगरे फेरि आन्दोलन गर्ने बताइन् ।
अधिकारकर्मी नितु भट्टले बर्खास्ती जनताको चाहना नभई वास्तविक दोषी सार्वजनिक गनु पर्ने धारणा व्यक्त गरिन् । यस्तै अधिकारकर्मी शारदा चन्दले सरकारले न्याय दिन आलटाल गरेकाले आन्दोलन गर्न बाध्य भएको बताइन् । निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै तीन महिना हुँदा पनि प्रहरीले वास्तविक हत्यारा पहिचान गर्न सकेको छैन । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न जाँदा ११ साउनमा शव फेला परेका थियो । कञ्चनपुर प्रहरीले घटनामा संलग्नको खोजी तिव्र बनाएको जनाउँदै ‘न्यारोडाउन’ विधिमार्फत अनुसन्धान भइरहेको बताएको छ ।