मुम्बई – बलिउड अभिनेत्री सन्नी लियोनी सिनेमा ‘वीरमदेवी’लाई लिएर फेरि विवादमा फसेकी छन्। छायांकनदेखि नै विवाद पर्दै आएको यो सिनेमामा फेरि विवाद चर्किएको छ। फिल्म र सन्नीको विरोधमा कर्नाटकमा प्रदर्शनकारीले हात काटेर सिनेमा बन्द गर्न दबाब सिर्जना गरिरहेका छन्।
कर्नाटकमा रक्षण वेदिक संगठन र अन्य हिन्दू संगठनले पहिलादेखि नै विरोध गर्दै आएका थिए भने अहिले विरोधले उग्ररुप लिइरहेको छ। संगठनले ‘वीरमदेवी’मा सनीको भूमिकालाई लिएर विरोध गरेका हुन्। उनीहरुले सन्नी वीरांगनाको भूमिका रहने कुरालाई हस्तक्षेप गरेका हुन्। सन्नी पोर्न स्टार भएको हुँदा ऐतिहासिक महत्वमा क्षति हुने भन्दै विरोध प्रर्दशन गरेका छन्।
हुन त सन्नीले यस्तो विरोधको सामना गरेको पहिलो पटक भने होइन। यो भन्दा पहिला पनि एक कार्यक्रममा उनको विरोध भएको थियो भने उनको बायोपिक सिनेमाको नाममा समेत शिख समुदायले आपत्ति जनाएका थिए। त्यस्तै दीपिका पादुकोण अभिनित सिनेमा ‘पद्मावत’को विरुद्ध राजस्थानमा करणी सेनाले विरोध गरेका थिए। यो विरोधले दिल्ली हरियाणा र उत्तर प्रदेशमा हिंसाको रुप समेत लिएको थियो। विरोधपछि केही सिनमा परिवर्तन गरेर सिनेमा रिलिज गरिएको थियो।
