श्रीलंका – श्रीलंकामा दुई जनाले प्रधानमन्त्री पदको दाबी गर्ने क्रम अझै जारी छ । यसले गर्दा राजनीतिक हिंसाको घटना बढ्न सक्ने अवस्था विद्यमान देखिएको छ । गएको शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री पदको शपथ खुवाएपछि समस्या चर्केको हो । प्रधानमन्त्रीको सरकारी कार्यालय नयाँ प्रधानमन्त्री राजापाक्षको नियन्त्रणमा छ भने सरकारी आवास ‘टेम्पल ट्री’ भने अझै निवर्तमान प्रधानमन्त्री विक्रमासिंघेकै नियन्त्रणमा रहेको बताइएको छ । नयाँ प्रधानमन्त्रीका प्रवक्ताले बिक्रमासिंघेलाई सरकारी आवास छोड्न अझै केही समय दिइने बीबीसीसँगको कुराकानीमा बताएका छन् । उता बर्खास्त गरिएका प्रधानमन्त्री बिक्रमासिंघेले सोमबार पनि फेसबुकमार्फत् आफू नै आधिकारिक प्रधानमन्त्री भएको दाबी गरेका छन् । उनले संसदमा अझैपनि आफूले बहुमत साबित गर्ने समेत उल्लेख गरेका छन् ।
यसैबीच गहिरिँदै गएको राजनीतिक संकट संसदबाट समाधान गरिनुपर्ने श्रीलंकाको संसदका सभामुख कारु जयसुरियाले बताएका छन् । संसदको बैठक नोभेम्बर १६ तारेखसम्मका लागि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्थगित गरेको अवस्थामा सभामुखले पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनले बताएका छन् । उनले संसदबाट समाधान नखोजिएमा सडकबाट खोजिने समाधानले श्रीलंकामा रगतको खोलो बग्न सक्ने चेतावनी समेत दिएका छन् । राष्ट्रपतिले राजापक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपनि सभामुख जयसुरियाले पुरानै प्रधानमन्त्रीलाई मान्यता दिएका छन् । उनले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गरेका छन् ।

संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पु¥याउँछ, त्यसैलाई प्रधानमन्त्री मान्नु पर्ने उनको भनाइ रहेको छ । प्रधानमन्त्री पदबाट बिक्रमसिंघेलाई हटाएपछि भएको दंगामा एक जनाको मृत्यु भइसकेको छ । एक जना मन्त्रीका गार्डले राष्ट्रपतिका पक्षधरमाथि गोली चलाउँदा मृत्यु भएको आरोपमा श्रीलङ्काको प्रहरीले सोमबार तेल मन्त्रीलाई पक्राउ गरेकोमा उनलाई साँझ धरौटीमा रिहा गरिएको थियो । आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुङ्गाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । सन् ११९६ मा श्रीलङ्कालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुङ्गा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेका बलियो समर्थक मानिन्छन् । श्रीलङ्काका ट्रेड यूनियनहरू मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेल मन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रूवान गुण्नसेकेराले बताएका थिए ।
अन्तर्राष्ट्रिय जगत दुई कित्तामा
श्रीलंकामा भएको पछिल्लो गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय जगत दुई कित्तामा विभाजित भएको छ । छिमेकी चीले नयाँ प्रधानमन्त्री राजपक्षेलाई बधाई दिइसकेको छ भने भारत, युरोपेली संघ( इयु) र अमेरिकाले संविधान अनुसार चल्न श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् । श्रीलंकाको संविधान अनुसार प्रधानमन्त्रीलाई राष्ट्रपतिले सीधै बर्खास्त गर्न मिल्दैन ।