२०८१ वैशाख ३० गते | 12th of May 2024

एनईएको चुनावमा लोकतान्त्रिक प्यानलको जीत सुनिश्चित छ : ई. भण्डारी

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २४ गते १३:४९

काठमान्डौं – नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा लोकतान्त्रिक समूह निकै बलियो देखिएको छ । देशव्यापी भ्रमण, अनुगमन तथा सर्वेक्षणका आधारमा इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा रहेको लोकतान्त्रिक प्यानल बलियो देखिएको हो । विभिन्न प्रदेशहरुको स्थलगत भ्रमणमा मतदाताहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरु अत्यन्त उत्साहित भएको प्रधान प्यानलमा सदस्यको उम्मेदवार रहनु भएका मध्ये सबैभन्दा वरिष्ठ इन्जिनियर सुदर्शन भण्डारीले बताउनुभयो । नेपालको समग्र इन्जिनियरिङ क्षेत्रलाई अत्यन्त सुक्ष्म ढंगले बुझ्नु भएका विद्धान प्राध्यापक प्रधानको नेतृत्वमा प्यानल घोषणा भएपछि देशभरका इन्जिनियरहरु निकै हौसिएको र सबै प्रदेशमा पूरै लोकतान्त्रिक प्यानलको जीत लगभग सुनिश्चित रहेको भण्डारीले जानकारी दिनुभयो ।

वरिष्ठ इन्जिनियर सुदर्शन भण्डारीको संक्षिप्त परिचय :
सहसचिवको रुपमा खानेपानी तथा सरसफाई मन्त्रालयबाट यसैवर्ष निवृत्त भण्डारी अत्यन्त बौद्धिक, मृदुभाषी तथा शालिन व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । भण्डारीले विक्रम सम्बत् २०४५ देखि २०५९ सम्म इन्जिनियर, २०५९ देखि २०७२ सम्म सिनियर डिभिजनल इन्जिनियर तथा २०७२ देखि २०७५ सम्म सुपरिटेन्डेन्ट इन्जिनियरको भूमिका निर्वाह गरिसक्नु भएको छ । उत्कृष्ट कार्य क्षमताका कारण भण्डारीलाई विभिन्न संघ संस्थाले सम्मान गरेका छन् । २०३८ सालमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट प्रविणता तह पूरा गर्नु भएका भण्डारीले २०४५ सालमा पूर्व सोभियत संघको खार्कोभ सिभिल इन्स्टीच्यूटबाट उत्कृष्ट अंक सहित सिभिल इन्जिनियरिङमा एमएससी उत्तिर्ण गर्नु भएको थियो । २०५७ सालमा उहाँले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर तह पनि उत्तिर्ण गर्नुभयो । स्वदेश तथा विदेशमा विज्ञका रुपमा भण्डारी विभिन्न गोष्ठीमा सहभागी भइसक्नु भएको छ । सन् २०१४ मा केन्यामा भएको इन्टरनेशनल वाटर एसोसिएसनको सम्मेलनमा भण्डारीले पेश गर्नु भएको कार्यपत्र सहभागीहरुबीच निकै चर्चित भएको थियो । यसै वर्ष भण्डारीकै मुख्य संयोजनमा काठमाडौंमा भएको इन्टरनेशनल कन्भेन्सन अन वाटर इन्भाएरोमेन्ट एण्ड क्लाइमेट चेन्ज भव्य रुपमा सम्पन्न भएको थियो । यस सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्रीको समेत सहभागिता रहेको थियो । अध्ययन अनुसन्धानका क्रममा भण्डारीले मुलुकका ५० भन्दा बढी जिल्ला सहित उत्तर अमेरिका, एशिया, यूरोप तथा अफ्रिका महादेशका विभिन्न मुलुकहरुको भ्रमण गरिसक्नु भएको छ । सामाजिक संघ संस्थामा पनि आबद्ध भण्डारी रोटरी क्लब महाराजगञ्ज तथा सोसइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपालमा पनि सक्रिय हुनुहुन्छ ।

Image result for nepal engineers association

प्रधान प्यानलका अन्य उम्मेदवार :
प्रधानको प्यानलमा उपाध्यक्षमा डाक्टर चण्डिका प्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोक कुमार शाह, कोषाध्यक्षमा अपील केसी र सहकोषाध्यक्षमा जानुका थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टरार्ई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी र दिनेश अर्याल रहनु भएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समिति तथा सातवटै प्रदेश कार्यकारिणी समितिको निर्वाचनका लागि यही मंसिर २८ गते मतदान हुँदैछ । निर्वाचनमा १७ हजारभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *