टेक्सास – काठमाडौंका सविन सिलवालको उपचारको क्रममा बुधबार फोर्टवर्थको जेपिएस अस्पतालमा निधन भएको छ ।
विगत १३ वर्षदेखि अमेरिकामा रहँदै आएका सविन सिलवालको शुक्रबार दिउँसो २ बजे निधन भएको हो । उनीसँग नर्सरीदेखि सँगै अध्ययन गरेका साथी सन्दीप पालिखेका अनुसार गत शुक्रबार इन्टरनल ब्लिडिङ भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताए । सिलवाल ३१ वर्षका मात्र थिए । उनी साथीसँग अर्भिङमा बस्दै आएका थिए । उपचारका क्रममा उनलाई अल्सर, लिभर र किड्नी सबैतिर समस्या देखिएको थियो ।
‘आइसियुमा राखेर उपचार भैरहेको थियो । तर डाक्टरहरुले धेरै प्रयास गर्दा पनि बचाउन सकिएन’ पालिखेले भने । सिलवाल काठमाडौं शान्तिनगरका हुन् । उनी अविवाहित छन् । परिवारमा हजुरबा, हजुरआमा, बा–आमा, भाइ र दिदीहरु छन् । सन् २००५ मा अमेरिका आएका सिलवाल फोर्टवर्थको ग्याँस स्टेशनमा क्यासियरका रुपमा कार्यरत थिए ।
‘परिवारले उनको शव नेपाल पठाइदिन आग्रह गरेका छन्,’ पालिखेले भने । बुधवार बिहान एनअारएन टेक्ससका अध्यक्ष भानु खरेल, नेपाली समाजका अध्यक्ष सुमन थापा लगायत अस्पताल पुगेर बिरामी सिलवाललाई भेटेका थिए ।
मृतकको शव नेपाल लैजाने कि यहिँ दाहसंस्कार गर्ने भन्ने बारेमा परिवारसँग परामर्श भैरहेको समेत खरेलले जानकारी दिए ।