सान फ्रानसिस्को – जयतु संस्कृतम् अमेरिका तथा विश्व अध्यात्म केन्द्रको आयाेजनामा अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्काेमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफलमा जयतु संस्कृतम् एवम् विश्व अध्यात्म केन्द्रको हालका गतिविधि एवम् भावी योजनाका बारेमा चर्चा भयो ।
कार्यक्रममा जयतु संस्कृतम् अमेरिकाका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका गुरु चूडामणि पाठकले संस्कृतले समाजसाई सुसंस्कृत पार्न खेलेकाे भूमिका बारे चर्चा गर्दै संस्कृत भाषालाई विश्वव्यापी रूपमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विश्व अध्यात्म केन्द्रका संयोजक तथा वाल्मीकि विद्यापीठका पूर्व सहायक प्राध्यापक पीपलमणि सिग्देलले विश्वशान्तिका लागि संस्कृत भाषा र ज्ञानले अतुलनीय भूमिका खेल्नसक्ने बताउनुभयाे ।
छलफलमा वाल्मीकि विद्यापीठका पूर्व विद्यार्थी एवम् चर्चित कलाकार देवीराम पराजुली (भोक लाग्यो)ले संस्कृतकाे प्रचारमा सबै लाग्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रममा वाल्मीकि विद्यापीठका पूर्व स्ववियु सदस्य धुर्व दाहालले नेपालकाे विद्यालय तहमा संस्कृत पठनपाठन गर्ने व्यवस्थाका लागि सहयाेगका लागि जुट्न आग्रह गर्नुभयाे ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/52038580_612753672510679_7623195122196283392_n.jpg?_nc_cat=111&_nc_eui2=AeGlsGZ-57-Sf9HFkJnJ4l5fuqeDgzi7rR1MZ4PQ7S9p7saAvz5xwBExXJT6Qc1Q1xr-6V9R7JJQ_GHGRsZFmdR6D-LFr779835m5H5qOFkkTQ&_nc_ht=scontent-sjc3-1.xx&oh=3c11ce34f7698bd1acf32d7d32bdd1cf&oe=5CF09281)
निरन इटानी ‘संगीतकाे’ भक्तिसंगीत एवं भजनका साथ शुभारम्भ भएकाे कार्यक्रममा बर्मामा जन्मिएर नेपालकाे हिन्दू विद्यापीठमा अध्ययन गरी हाल अमेरिकामा याेग प्रशिक्षक रहनुभएका लक्ष्मण पन्थीले संस्कृतकाे ज्ञान पाश्चात्य समाजमा प्रचार गर्न पाठ्यक्रम बनाएर लाग्नुपर्ने बताउनुभयाे ।संस्कृत कक्षा सुरु गर्नका लागि सनफ्रान्सिस्काेमा नि:शुल्क कक्षाकाेठा उपलब्ध गराउने बताउँदै पन्थीले आफ्नाे याेग कक्षामा सबै अमेरिकनमात्र आउने गरेकाले नेपाली याेग सिक्न आए कुनै शुल्क नलिने उद्घाेष गर्नुभयाे ।
छलफलमा धारणा राख्दै समाजसेवी शिव नेपालले हरेक महिना आध्यात्मिक कार्यक्रम राखी हाम्राे संस्कार र ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनु भयाे । समाराेहमा सुदर्शन नेपाल, प्रतिमा खनाल, गीता नेपाल, निदर्श अधिकारी लगायतले संस्कृत भाषा तथा संस्कारकाे आवश्यकता र याेजना बारे आ-आफ्ना धारणा राख्नुभएको थियो ।