लस एन्जलस – साउदर्न क्यालिफोर्नियामा बस्ने नेपालीद्वारा निर्मित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरले २४ फेब्रुअरी आईतबार बिहान दश बजे सामुदायिक भेलाको आयोजना गर्न लागेको छ । मन्दिरको दीर्घकालीन तथा अल्पकालीन योजना कस्तो बनाउने भन्ने विषयमा छलफल गर्नको लागि सामुदायिक भेला आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सन् २०१२ मा १०,५२,०८२ (दश लाख बाउन्न हजार बयासी डलर) डलर लागतमा खरिद गरिएको यस मन्दिरको ऋण चुक्ता गर्नको लागि १४९०६५.१५ डलर (एक लाख उन्नान्चास हजार पैँसट्ठी डलर पन्ध्र सेन्ट) मिति फेब्रुअरी १७, २०१९ सम्ममा बाँकी रहेको छ । यो मन्दिर निर्माणमा एक पेनीदेखि एक लाख त्रिचालिस हजार डलर दान गर्ने दाताहरूको सहभागिता रहेको छ ।
फाउन्डेशनको सल्लाहकार समिती गठन :
संस्थाले ऋषि ढकाल, मुकुन्द ढुङ्गाना, राजेन्द्र सिवाकोटी, जितेन्द्र अमात्य, प्रेम गुरागाई, राम लामा, सुष्मा पौडेल रहेको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । वर्तमान सल्लाहकार समितिमा पुरानो सल्लाहकार समितिमा रहेका व्यक्तिहरू समावेश भएका छैनन् ।
मन्दिर उद्घाटन कार्यक्रम मार्च ३ मा :
फाउन्डेसनको पहिलो आधिकारिक मिटिङ डिसेम्बर १२, २००९ मा बसेको थियो भने क्यालिफोर्निया राज्यमा फेब्रुअरी ३, २०१० मा दर्ता भएको थियो । आर्थिक सङ्कलनको लागि जुलाई ४ देखि १०, २०११ सम्म पण्डित दिनबन्धु पोखरेलद्वारा महापुराण सप्ताह लगाइएको थियो । सङ्कलित रकमबाट नोभेम्बर १९, २०१२ मा भवन खरिद गरियो । खरिद गरिएको भवनलाई मन्दिरमा परिणत गरी सेप्टेम्बर ५, २०१५ मा गृह प्रवेश गरिएको थियो । नर्वाल्क सिटीबाट लिनुपर्ने सबै अनुमतिपत्र लिएर फेब्रुअरी ११ देखि १३, २०१८ मा प्राण प्रतिष्ठा पूजा गरी मन्दिरको विधिवत सुरुवात गरिएको थियो । अफिसियल रूपमा मन्दिरको उद्घाटन कार्य मार्च ३, २०१९ मा राखिएको छ । महाशिवरात्रीको अवसरमा प्रसादको स्पन्सर गर्नको लागि इच्छुक व्यक्तिलाई फाउन्डेसन अफिसमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
उद्घाटन तथा महाशिवरात्रीको अबसरमा मार्च १ देखि ४ सम्म महारुद्री कार्यक्रम राखिएको अध्यक्ष गोकुल पौडेलले जानकारी दिए । महारुद्रीको लागि प्रति परिवार $१११.०० डलर सहयोग दान दिएर पुन्य कमाउन अनुरोध गरेका छन् । सोहि अबसरमा मार्च २ तारिखमा भजन र नेपाली धुनका साथ् बिबिध सांस्कृतिक कार्यक्रम राखेको अध्यक्ष पौडेलले बताए ।
६ महिनामा मन्दिरको ऋण चुक्ता गर्ने :
मन्दिर खरिद गर्नको लागि बैंकबात लिगीएको ऋण ६ महिना भित्रमा तिरी सक्ने योजना रहेको सचिव विमल श्रेष्ठले जानकारी दिए । डलर डे अभियान, दाताद्वारा कबुल गरिएको रकम सङ्कलन जस्ता कार्य गरी ऋण चुक्ता गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समाचार स्रोत : दुरबिन नेपाल