२०८२ मंसिर २० गते | 5th of December 2025

नेपाली काग्रेसको १५औ महाधिवेशन : पुस २६ – २८ काठमान्डौमा

खुल्लामन्च
 प्रकाशित: २०८२ मंसिर १६ गते २२:५१

काठमान्डौ – नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरुलाई जानकारी दिएका हुन्। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका सर्वसम्मत रूपमा पारित भएको हो।

यसअघि महाधिवेशनको मिति बारे शीर्ष नेताहरूबीच सहमति नजुट्दा असोज २८ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले नेताहरूसँग गरेको निरन्तर अनौपचारिक छलफलका कारण अन्ततः पुसभित्रै महाधिवेशन गर्ने सहमति जुटेको हो। यही प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो। फागुन २१ गते हुने आमनिर्वाचनअघि वा पछि महाधिवेशन गर्ने, नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनासम्म कांग्रेस अनिर्णयमा रहँदा विभिन्न तहबाट आलोचना हुँदै आएको थियो।

नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला लगायत केही नेताहरू चुनावअघि महाधिवेशन गर्न तयार थिएनन्। तर आज सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग भएको भेटवार्तापछि उनीहरू समेत पुसभित्रै महाधिवेशन गर्न सहमत भएका छन्। निधि, सिटौला, विजयकुमार गच्छदार, सीता गुरूङ, किरण पौडेल, कुन्दनराज काफ्ले, गुरू बराललगायत नेताहरूले क्रमशः खड्का र त्यसपछि देउवासँग परामर्श गरेका थिए। सभापति देउवा स्वयं सक्रिय भएर समाधान खोज्न चाहेको कारण आफूहरूले पनि समर्थन गरेको निधिले बताएका छन्।

यसअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए।यदि पुसभित्र नियमित महाधिवेशन हुन नसकेको खण्डमा विशेष महाधिवेशनमा जानु अनिवार्य हुने अडान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको थियो।

नेपाली कांग्रेस १५ औं महाधिवेशन : कार्यतालिका (चार्ट)

चरण / कार्यक्रम मिति
नयाँ क्रियाशील सदस्यता फारम वितरण मंसिर २० भित्र
सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील वितरण सम्पन्न पुस ८ भित्र
नयाँ/नवीकरण क्रियाशील सदस्यताको अन्तिम सूची कार्यवाहक सभापति र सभापतिलाई बुझाउने पुस १४
विदेशस्थित जनसम्पर्क समिति अधिवेशन पुस १५ भित्र
गाउँ/नगर वडा अधिवेशन पुस १६
गाउँपालिका तथा नगरपालिका अधिवेशन पुस १७
प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र क्षेत्र भएको जिल्ला) पुस २१
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एकभन्दा बढी क्षेत्र भएका जिल्ला) पुस २२
प्रदेश अधिवेशन पुस २३ र २४
केन्द्रीय महाधिवेशन पुस २७ -२८, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *