२०८१ साउन १२ गते | 27th of July 2024

लमजुङका असहायलाई नमस्ते किड्सले पढाउने

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ३:११

लमजुङ, १३ जेठ ।
लमजुङका चार असहाय बालबालिकालाई नमस्ते किड्स नामक संस्थाले माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । बेंशीसहर नगरपालिका वडा नं. ११ का एउटै परिवारका १३ वर्षीया शीतल, ११ वर्षीय सुमन, नौ वर्षीया सोनु र पाँच वर्षीया युनिका तामाङलाई पोखराको नमस्ते किड्सले माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको हो । बाबु आमाविहीन उनीहरूले आफ्नो संस्थाले माध्यमिक तहसम्म पढाउन सहयोग गर्ने संस्थाका सञ्चालक सगुन गुरुङले जानकारी दिए ।
उनीहरूका बुबा नौ वर्षअघि गाडीले किचेर भारतमा मृत्यु भएको र आमा भने कुवेत गएपछि बेपत्ता भएकी थिइन् । त्यसपछि असहाय बनेका उनीहरूले खान र बस्नका लागि गाउँलेहरूले सहयोग गर्दै आएका छन् । जसमा नेपाल तामाङ घेदुङ लमजुङ र बस्ने घरका लागि वल्र्ड भिजनले सहयोग गरेको छ । ‘गाउँलेले खानका लागि अन्न उठाएर दिने गरेका छौं’, गाउँले अमरबहादुर तामाङले भने, ‘अरुले सहयोग गर्न छोड्ने हो भने पानीमा नुन हालेर खानुपर्ने अवस्था छ, बिचरा नानीहरूलाई छ ।’ उनीहरूलाई केही दिन अघि सामाजिक अभियन्ता गौरी गुरुङ र नमस्ते किड्सका सञ्चालक सगुन गुरुङको पहलमा लत्ताकपडा र केही खाद्यान्न सहयोग गरिएको छ । सामाजिक अभियन्ता गुरुङको पहलमा हङकङनिवासी कमला गुरुङ र युकेनिवासी अमर गुरुङले उनीहरूका लागि १०÷१०हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
उनीहरूका बारे समाचार प्रकाशित भएपछि युवा समाजसेवी हिराजंग तामाङको पहलमा सामाजिक अभियन्ता गौरी गुरुङ र नमस्ते किड्सका सगुन गुरुङसहितको टोलीले उनीहरूलाई स्कुल ड्रेस, स्टेशनरी, दैनिक उपभोग्य सामान, ग्यास चुल्हो, लत्ताकपडा सहयोग गरेको हो । जसका लागि नमस्ते किड्सका सञ्चालक सगुन गुरुङ, सदस्य अनिल श्रेष्ठ, पोखरानिवासी मीनबहादुर गुरुङ, सञ्चारकर्मी नरु दोङले समेत आर्थिक सहयोग गरेका थिए । नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङले यातायातका लागि सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *