२०८१ साउन १२ गते | 27th of July 2024

जनप्रतिनिधीले पदभार सम्हाले

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १४ गते १८:१५

पोखरा, १५ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुखले बृद्धभत्ता बढाउने पहिलो निर्णय गरेका छन् । चुनावी अभियानका क्रममा प्रतिबद्धता गरिएको बृद्धभत्ता बृद्धीको एजेण्डा सबैभन्दा पहिले कार्यान्वयन हुने भएको छ । आइतबार सपथपछि पदभार ग्रहण गरेलगत्तै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङले १० प्रतिशत वृद्धाभत्ता वृद्धि गर्ने लगायत ३ निर्णय गरेको हो । महानगरपालिकाभित्रका ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सरकारले प्रदान गरेको वृद्धि भत्ताको रकममा १० प्रतिशत थपेर प्रदान गर्ने निर्णय गर्यो ।
सरकारी नीतिअनुसार ६० वर्ष नाघेपछि वृद्धभत्ता पाउने दलित ज्येष्ठ नागरिक भने यो सेवाबाट बञ्चित हुनेछन् । मेयर, उपमेयरको निर्णयअनुसार यो सुविधा पाउन दलित ज्येष्ठ नागरिक ७० वर्ष नाघेको हुनुपर्ने देखिएको छ । यो निर्णय आर्थिक वर्ष २०७४(७५ को साउनदेखि नै लागू हुनेछ ।
बढेको भत्ता नगरपालिकाको आन्तरिक श्रोतबाट ब्यहोर्ने मेयर जिसीले बताए । पोखरा लेखनाथ महानगरमा १३ हजार १ सय ७ ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकले प्रतिमहिना पाउने २ हजार रुपैयाँको १० प्रतिशत २ सय रुपैयाँ हुन आउँछ । जसअनुसार प्रतिमहिना २६ लाख २१ हजार ४ सय रुपैयाँ र प्रतिवर्ष ३ करोड १४ लाख ५६ हजार ८ सय रुपैयाँ पोखरा लेखनाथ महानगरलाई आर्थिक भार थपिन्छ ।
महानगरपालिकामा सेवाग्राहीलाई महसुस हुने गरी १० दिन भित्रमा सेवा प्रभावकारी बनाउने निर्णयसमेत मेयर, उपमेयरले प्रतिवद्धता जनाएका छन् । महिला हिँसा पीडीत तथा महिलाका समस्या समाधानका लागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गरिने निर्णय गरिएको उपमेयर मञ्जु गुरुङले बताइन् । आइतबार पोखरा लेखनाथ महानगरपालिकामा निर्वा्चित मेयर, उपमेयरसहित ३३ वटै वडाका पदाधिकारीले सपथलगतै अधिकांशले पदभार ग्रहण समेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *