सानफ्रान्सिस्को – ‘कोशीश गर्ने हातहरु कहिल्यै थाक्दैनन्’ यही भनाईलाई चरितार्थ गर्नमा बिश्वस्त एक हक्की स्वाभावकी महिला एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि महिला संयोजक पदमा चुनाव लडेकी छन । सामाजिक चेतना जगाउन निरन्तर लागिपरेकी पत्रकार दिक्षा बस्नेत एनआरएनए महिला संयोजक पदमा चुनावमा होमिएको बताउंछिन ।
पत्रकारितामा मास्टर्स डिग्री हासिल गरेकी शिक्षित अभियान्ता बस्नेत अबका दिनहरु सामाजीक सेवा र समर्पणमा बिताउने योजना बुन्दै पून: एनारएन अभियानमा लागेको बताउंछिन । ‘जिउनुको अर्थसंगै अझ बढी मायाप्रेम, सदभाव- हौसला, समर्थन र सहयोगले अझै अघि बढ्न प्रेरित गर्दोरहेछ,’ बस्नेत थप्छिन ‘त्यही प्रेरणाको बललाई सामाजिक अभियानमा निरन्तरता दिने जागरुकताले एनआरएनमा महिला आवाजको आवश्यकत ठानी महिला संयोजक पदमा चुनाव लड्ने निर्णय गरेको हुँं ।’
प्रवासी समाजको उन्नतीको सपना देख्छु, म जन्मेको देश बनेको सपना देख्दछु । मेरो देश, जुन देशको सदनमा बिग्रेको घडी भित्तामा झुन्डिन्छ, अनि सोच्छु घरेलु हिंसा र बलात्कार, छौपडि, बोक्सी, दाइजो, आमाको नामबाट नागरिकता जस्ता महिलाका कठिनतम बिषयमा कलम चलाईंरहदा एक दशक बितेछ,’ बस्नेत भन्छिन । ‘मेरा कलमले के परिवर्तन ल्यायो त, नआएको परिवर्तनले दु:खी तुल्याउंछ । अब आवाज उठाउन कलम मात्रै होइन । अली ठुलो मन्च चाहिन्छ मलाई भन्ने लागेर आवाज बुलन्द गर्न एनआरएनमा होमिने निर्णय गरेको छु ।’
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरकी वर्तमान महिला संयोजक बस्नेतले एउटा महिलाको सपना, सेवा गर्ने चाहना र बुलन्द पारीने महिला आवाजका लागि एनआरएन अमेरिकाको महिला संयोजक पदको निर्वाचनमा सहयोग गरिदिन अपिल गरेकी छन ।