गोकुल ढकाल, लस एन्जलस, क्यालिफोर्निया ।
अझै पनि महापुराणका कथाहरु लेखिंरहंदा पुरानो लाग्छ । तर ईतिहास त्यही हो । सामाजिक दायित्व, स्वार्थरहित सेवा र सात समुन्द्र पारीको देशमा सांस्कृतिक संरक्षणको अभियानले प्रवासी नेपाली सामुदायिक ईतिहासमा गर्व गर्न लायक अनुपम नमुना बनेको छ, श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलस । भगवान पशुपतिनाथको जोडीईसकेको गजुर, दानबिरहरुको अपार मनकारी हजुर र निकट भबिश्यमै मन्दिरको प्रांगणमा नाच्ने भावनात्मक एकता र सद्भावका अनेकन कार्यक्रमहरुका मजुरले हिजो चार घरबाट शुरु भएको ग्रेटर लस एन्जलस नेपाली समाज अहिले मायाबी हलिवूडको विविधताले मात्र होईन, प्रवासी नेपाली तन र मनका एकताले निर्माणाधिन मन्दिरका कारण सांस्कृतिक गन्तब्य बन्दैछ । नेपाली मनहरुको लगावका निरन्तरता, सेवाभावका समानता र सकृय सम्पूर्ण संस्थाहरुका पारस्पारिक एकताले साच्चै मज्जैले मच्चिदैंछ, सफलताको पिङ्ग अनि थपिदैंछन एकताका ईट्टाहरु र जोडीदैंछन सफलताका टुंडालहरु ।
समाजसेवी तथा लस एन्जलसका अभिभावक र वरिश्ठ ईन्जिनियर कन्हैया कायस्थहरुका मनले १९८० मा सानो बैठकमा परिकल्पना मात्र गरेका ‘एउटा मन्दिरको’ सपनाहरु उहांहरुकै शब्दमा ‘आज भक्त थापाहरुको अगुवाईले’ सबका सपना पुरा हुंदैछ । सबैले समाजका लागि कल्पना गरेका सपनाहरु पुरा हुन्छन भन्ने छैन । तर, कहिलेकाहीं युवाहरु यस्ता सपना देख्छन, उनिहरुको पालामा त्यो असम्भव देखिन्छ, त्यसका लागि युवाहरु अभियान संचालन गर्दछन, बैठकहरु चलाऊंछन, जगारण फैलाउंछन, अनि समाज बन्दछ । समाजमा ती युवाहरुले देखेका सपनाहरुको कुरो कोट्टिन्छ । कोट्टाईएका कुराहरुको बैठकले सान्दर्भिकता खोज्दछ, त्यो फैलन्छ अनि महा-अभियान शुरु हुन्छ । त्यही युवाले सपनाको नेत्रित्व गर्दछ र पौरखको एकता खोज्दछ । जोशी र कायस्थहरुले प्रतिनिधि भएर १९८० मा देखेको सपना करिब ३७ बर्ष आएर आज पुरा हुंदैछ । त्यो बेलाका तन्नेरी जोशी र कायस्थहरु आज फाउन्डेशनको सेवा र डिजाईनिङको टोलीनेता बनेका छन । सपना देख्ने युवाबाट जीवन ब्यतित गर्ने क्रमका सपने शुरुवातेहरु, सपनाको अभियान चलाऊने क्रममा अभियानता हुंदै जीवनको कालखन्डमा सेवा प्रदान गराउंदै अभिवाकहरु बनेका छन, जोशी र कायस्थहरुको रुपमा । र, यी अभिभावकहरु भक्त थापाहरुको मेहतन, लगाव र जागरुकता देखेर अाजकाल हुने बैठकहरुमा हर्षका अांशु चुहाउंछन । (स्मरण रहोस्, यहाँ चाकरी र नाम प्रचारका लागि होइन, सामुदायिक सेवामा सबैको उत्तिक्कै महत्व र योगदान हुंदाहुंदै उहांहरुको नाम प्रतिनिधि पात्रको रुपमा लिईेएको छ ।) किनकी मन्दिरका ईट्टाहरु थपिंदै छन र टुंडालहरु जोडीदैंछन ।
सपना, कोठा, चार घर, पूजा, विवाह-ब्रतबन्ध, पार्टी, सत्संग, देउसी, सांगितिक जमघट, तीज र महापुराण हुंदै निर्माण हुनै लागेको मन्दिरका धेरै शिर्शकहरु धेरैले लेखिसकेका छन । तर एक लाख एघार हजार डलर देखी एक पेनीसम्मको योगदान त्यसैइ दान भएको होईन । सामाजिक दायित्वबोध, सांस्कृतिक प्रेम, जन्मभुमीप्रतिको अगाध आस्थाले एक लाख देखी एक पेनी सम्मको कथा भावनाले जोडेको हुन्छ । अमेरिकी प्रवासमा मान्छेहरु तर्सिन्छन, कि लस एन्जलसमा मन्दिरका लागि पचास हजार भन्दा माथी महादान गर्नेहरु करिब दश जना छन, पच्चिस हजार भन्दा माथी दान गर्नेहरु बिस जना भन्दा बढी छन भनेर सुनाउंदा । सबैका दानहरु समान हुन, मान्छेले सक्ने दिने हो । तर हरेक दानवीरहरुको ‘दानलाई दाना होईन – महादानै हो; भनी भक्त थापाहरुले भन्ने साहस ठुलो हो । सांगितिक सेवा होस् या सांगितिक सेवा, एक लाख होस् वा एक पेनी, प्रसादको सेवा होस् वा सत्संग स्थलको, प्रचारको सेवा होस् वा स्टाटसको, तालीको सेवा होस् वा गालीको, पुस्तकको सेवा होस् वा शिक्षाको, नगदको सेवा होस् वा उधारोको । हरेक ‘सेवालाई सेवा नै हो’ भन्न सक्ने भक्त थापाहरुको मन देखेर रोयो रे, जोशी र कायस्थका मन । अहिले लस एन्जलसलाई सेवा भन्दा केही चाहिएको छैन । जुन समाजले स्वार्थ भन्दा केवल सेवा खोज्दछ, त्यही समाज सवल बन्दछ । त्यही सेवा र सिर्फ सेवाले थपिंदैछन सेवकआ ईट्टाहरु र सवल टुंडालहरु ।
एउटा कार्यक्रमका लागि लस एन्जलसमा स्थापना भएका संस्थाहरुको गणना गरेको, यहाँ करिब २० सामाजिक संस्थाहरु रहेछन । शिक्षाको उदेश्य लिएर खोलिएको संस्थाको होस, या समाजसेवालाई प्रमुख एजेन्डा मानी संगठित राजनैतीक संगठन होस्, या आफ्नो जाती र पुर्खाको संस्क्रिती सम्मान र संरक्षण गर्न खोलिएको संस्था होस् या सामाजिक एकता र बिकासका लागि प्रवासमा हातेमालो गर्न स्थापना भएको संस्था होस्, गर्वका साथ भन्न पर्दछ, आजका मितिसम्म अपवाद बाहेक संस्थाहरुमा आपसी बिभेद र तिरस्कार सिर्जना वा निर्माण भई मौलाउने वातावरण सिर्जना भैनसकेकाले थपिंदैछन सामुदायिक उन्नतीका ईट्टाहरु र सामाजिक प्रगतीका टुंडालहरु ।
परदेशका ब्यस्त जीवनमा हरेकका आ-आफ्न बाध्यताहरु हुन्छन । तर बाध्यता र ब्यस्ततालाई प्रभाह नगरि बरु छोरालाई बिद्धालय छिमेकीलाई छोड्न लगाएर पनि पाण्डे, श्रेष्ठ, मैनाली, पाठक र भन्डारीहरु प्रतिनिधी भएर स्वयसेवकको रुपमा अहोरात्र लागिपरेका छन । ईर्श्यामा रम्ने डायोस्प्याराका सामाजिक संस्थाहरुलाई सवक सिकाउन सफल लस एन्जलस तिनै स्वयमसेवकहरुले आंफैले ‘फिट’ गरेका आंखीझ्यालहरु, ठड्याएका मन्दिरका बुट्टे थामहरु, टांसिएका पित्तलका पाताहरु र स्वयमसेवकहरुकै हातबाट जोडीएको गजुरले यो ग्रेटर लस एन्जलसको यो ‘एकताको समाज’लाई नमस्कार हजुर गर्ने दिनहरु आईरहेका छन । मन्दिरको शान गजुरलाई आफ्नो ईज्जतको शीर सम्झने कैयौं स्वयमसेवकहरुको सेवाभावले थपिदैंछन अस्तित्वका ईट्टाहरु र संस्कृतिका टुंडालहरु ।
लस एन्जलस, नेपाली समुदायको एक सदस्य आफ्नो खर्चमा महिनौं नेपालमा खटेर जन्मभुमीको कला, पगोडा शैलीको अध्ययन, कालिगढको खोजी र हस्त निर्मित मुर्तीहरुको लागी खोजी गर्दछ । अर्को सदस्य बाढी र भुकम्पले प्रताडित आफ्नै मुलुकको दु:खमा मल्हम लगाउन समुदायको सहयोग बांड्न जन्मभुमी कुद्छ । अर्को सदस्य लाखौंं खर्च लाग्ने शिपिङ्गको जिम्मा आँफै बेहोर्न तयार छ । कुनै सदस्य एक डलर पेमेन्ट आएपनि अपडेट गर्न हरेक बखत कम्प्युटर जस्तो पक्क छ । कुनै सदस्य संस्थाले अघी सारेका अभियानहरुको नेत्रित्व गर्न अघि सर्छ । कुनै सदस्य लाईब्रेरी, कुनै सदस्य शिक्षक, कुनै सदस्य प्रचार माध्यम, कुनै सदस्य आलोचक, कुनै सदस्य समर्थक बनिदिन्छ । यसरी शरीर तन्दुरुस्त राख्न हरेक अंगहरुले समान तवरले काम गरेजस्तै समाज स्वास्थ राख्न हरेक सदस्य उत्तिकै जिम्मेवार ढंगले आफुलाई प्रस्तुत गर्ने सामाजिक निर्भिकताको नजीरले जोडीदैंछ संगठित ईट्टहरु र ठडीदैंछन हातेमालोका बलिया टुंडालहरु ।