काठमान्डौ – पछिल्लो समय ‘थर्डपोल’को नेतृत्व गरिरहेका नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं नेता कृष्णप्रसाद सिटौलाले सोमबार राष्ट्रिय नाँचघरमा एक कार्यक्रम आयोजना गरेका छन्। कांग्रेस महाधिवेशनको चर्चा चलिरहदा सिटौला समूहले जीपी कोइराला अध्ययन केन्द्रको व्यानरमा भेला गरेका हुन्। भेलामा सिटौलाले पार्टीको आन्तरिक संरचना सभापति शेरबहादुर देउवाले ध्वस्त पारेको आरोपबाट सम्बोधन सुरु गरे। उनले केपी ओली नेतृत्वको सरकारले निरंकुशताको बाटो हिँड्न खोजिरहेको पनि सुनाए। सम्बोधनको मध्यान्तरसम्म सरकारको आलोचनामा खर्चिएका सिटौलाले अन्ततः सभापति देउवामाथि कटाक्ष गर्दै भनाई बिट मारे। ‘पार्टीमा संस्कारको विकास हुन सकेको छैन, एकै विचारको प्रवाह नेतृत्वले गर्न सकेको छैन।’
सिटौला त्यतिमा रोकिएनन्। देउवा अझै केन्द्रीकृत मानसिकताबाट चलिरहेको आरोप लगाउँदै आफ्नो विचारलाई पार्टीमा बन्देज गरिएको बताए। जीपी कोइराला अध्ययन केन्द्रको ब्यानरमा आयोजित ‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा सबै सिटौला समूहका नेताहरु सहभागी थिए। सांसद समेत रहेको नेता उमाकान्त चौधरी, प्रभावशाली नेताहरु गगन थापा, प्रदीप पौडेल, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई लगायतका नेताहरु गोष्ठीमा सहभागी थिए। भ्रातृ संस्थाबाट पनि सिटौला समूहकै नेताहरु सहभागी थिए। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईं, कलाकार संघबाट महामन्त्री रोश्नी केसी लगायतका युवा नेतालाई सहभागी गराइएको थियो।
डेनमार्क प्रशिक्षणलाई काउण्टर
जीपी कोइराला अध्ययन केन्द्रको ब्यानरमा आयोजना भएको सोमबारको गोष्ठीलाई कतिपय सहभागीले डेनमार्कमा उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रमको ‘काउन्टर’ कार्यक्रमको रुपमा पनि व्याख्या गरेका छन्। ‘डेनमार्क जाने सूचीमा गगन थापा, प्रदीप पौडेल दाइहरुको नाम पनि थियो, तर आलोचना भएपछि उहाँहरु जानु भएन,’ कार्यक्रममा सहभागी एक नेताले भने, ‘त्यसैले जीपी कोइराला अध्ययन केन्द्रको आयोजनामा काउन्टर कार्यक्रम गरिएको हो।’ प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि कार्यक्रममा उपस्थिति शून्यप्रायः बनाएका सिटौलाले राष्ट्रिय जागरण अभियानपछि आफ्नो समूहका नेता–कार्यकर्तासँग भेटघाट तीव्र पारेको एक नेताले बताए। ‘युवा नेताहरुलाई साथ लिएर महाधिवेशनको माहोल बनाउन लाग्ने सिटौलाजीको ध्येय देखिन्छ,’ उनले भने, ‘अबको लक्ष्य महाधिवेशन नै हो, त्यसैले सिटौलाजीको समूहका नेताहरुले नै महाधिवेशनको कुरा जोडतोडले उठाइरहेका छन्।’
देउवाप्रति आक्रामक
सिटौला समूह १३औं महाधिवेशनदेखि नै देउवाप्रति कटुवाण प्रहार गर्न तल्लीन छ। यसको पछिल्लो प्रमाण सोमबारको सिटौला समूहको गोष्ठीलाई माने पुग्छ। सांसद एवं नेता उमाकान्त चौधरीले पार्टीले चुनाव हारिसकेपछि अंक गणितीय रुपमा चुनाव नहारेको बताएर देउवाले छुट नपाउने बताए। चुनावमा कांग्रेसले सहयोग गरेकै नेता र पार्टीबाट धोका पाएको उनको बताए। ‘अहिलेसम्म पार्टी लहडकै भरमा चलेको छ, न नीति र विचारको कुरा छ, न त कार्ययोजना,’ देउवातर्फ संकेत गर्दै उनले भने। त्यसैगरी, कांग्रेस नेता गगन थापाले केही नेताका कारण कांग्रेस पार्टीको इमेजमा दाग लागेको बताए। उनले यसलाई मेटाउनु पर्ने दायित्व सभापति शेरबहादुर देउवालाई सम्झाए। ‘पार्टीलाई जीवन्त बनाउन तत्काल महाधिवेशनको मिति घोषणा गर्नुस्, महाधिवेशन २ वर्षपछि गराउने भए अहिल्यै भन्नुस्,’ उनले भने।
अर्का नेता प्रदीप पौडेलले संसदमा सभापति देउवाकै भूमिका गतिलो हुन नसकेको बताए। वर्तमान सरकारका कदमहरुलाई रोक्न कांग्रेसले खेल्नु पर्ने भूमिका खेल्न नसकेको टिप्पणी गर्दै देउवाको आलोचना गरे, नेपालन्युजमा समाचार छ ।