लस एन्जलस – एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आगामी अक्टोबर महिनामा आयोजना हुने एनआरएनए आईसिसीको निर्वाचनमा अमेरिकाबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेद्वारहरुलाई दिल खोलेर सहयोग नगर्नेहरुलाई एनआरएनए अमेरिकाको तर्फबाट प्रतिनिधी बनाएर नलैजाने बताएका छन । आफु निर्वाचित भएपछी पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टरद्दारा च्याप्टरको पद हस्तान्तरण तथा नव-निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउने कार्यक्रमको उद्घाटन गर्न लस एन्जलस आएका अध्यक्ष साहले उक्त कुरा जनाएका हुन ।
‘हिजो के कति कारणले एनआरएनए अमेरिकाको पक्षमा नतिजा हात लागेन, त्यतातिर नजाऔं । तर हाम्रो हारको कारणबारे समिक्षा भने जरुरी छ ‘ कार्यक्रममा अध्यक्ष साहले बताए । ‘हामीविचको एकता र विश्वासको कमीले गर्दा हामी बलियो हुंदाहुंदै पनि हाम्रा पक्षमा नतिजा नआएको कुराको मेरो कार्यकालमा समिक्षा हुनेछ ।’ सक्षम एनआरएनकर्मीहरुको उम्मेद्वारीले यसपाली अमेरिकाको पक्षमा नतिजा हातलाग्ने बताउंदै अध्यक्ष साहले अमेरिकाबाट छानिने प्रतिनिधीहरु कमसेकम हाम्रा उम्मेद्वारहरुको बिजयीको सारथी बनुन भन्ने चाहना रहेको बताए । ‘अमेरिकाबाट जाने प्रतिनिधीहरुले कमसेकम अमेरिकाको प्रतिनिधित्व गर्दै दिएको उम्मेद्वारीको बिजयका लागी सहयोगी बनुन भन्ने चाहना हो । त्यसैले हाम्रा उम्मेद्वारहरुका चुनावी सारथीहरुमात्र प्रतिनिधी हुनेछन । कसैको दवावले प्रतिनिधी छनौट गरिनेछैन’, साहले प्रस्ट्याए । 
एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका निवर्तमान अध्यक्ष रामबाबु पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा च्याप्टरका नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए पश्चिम क्षेत्रका उपाध्यक्ष सर्वज्ञ वाग्लेले सपथ गराएका थिए । केन्द्रिय सभापति तथा प्रमुख अतिथि साहले आफ्नो उपस्थितिमा पनि उपाध्यक्ष वाग्लेलाई सपथ गराउने अवसर दिलाएको क्षणप्रति अध्यक्ष साहको भद्रताको प्रशंशा गरिएको थियो ।
एनआरएनए अमेरिका निर्वाचन समिती सदस्य हेमराज भट्ट, उपाध्यक्ष सर्वज्ञ वाग्ले, महिला संयोजक दिक्षा बस्नेत, सल्लाहकार उत्तम कार्की, निवर्तमान आईसिसी सदस्य बलराम थापा, अनेसास केन्द्रिय उपाध्यक्ष शान्तिराम ढकाल, क्यालिफोर्निया च्याप्टरका नव-निर्वाचित अध्यक्ष सुरेन्द्र मल्ल र निर्वाचित कार्यसमिती, समाजसेवी मुकुन्द ढुंगाना, हिमालयन लायन्सका अध्यक्ष सुर्य प्रसाईं, पुर्व आईसिसी सदस्य दिल श्रेष्ठ, एनआरएनए अमेरिकाकी निवर्तमान महिला संयोजक ईन्दिरा त्रिपाठी, सामाजिक अभियान्ताहरु पूर्ण बानिया, नविन पोखरेल, विश्व भट्ट, दुर्गा दाहाल, एकदेव शर्मा, शारदा श्रेष्ठ, डिल्ली थापा, राजेश पाण्डे लगायत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरु उपस्थित कार्यक्रमको संचालन निवर्तमान सचिव रोशन अधिकारीले गरेका थिए भने सपथ ग्रहण पश्चातको सत्र च्याप्टरका नवनिर्वाचित सचिव मदन महर्जनले गरेका थिए ।

च्याप्टरका निवर्तमान उपाध्यक्ष तुलसी चौंलागाईंले स्वागत मन्तब्य दिएका कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) लगायत क्यालिफोर्नियाका बिभिन्न संस्थाहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।





