२०८२ पुष २७ गते | 11th of January 2026

नेपाली क्रिकेट कप्तान पारस खड्काद्दारा कप्तानी पदबाट राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक १३ गते १०:४१

काठमान्डौं – राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । निवर्तमान कप्तान पारस खड्काले इमेलबाट नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो राजीनामाबारे जानकारी गराएपछि बुधबार मल्ल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान नियुक्त भएका हुन् ।

क्यानले अर्को निर्णय नगर्दासम्मलाई कप्तानको जिम्मेवारी मल्ललाई दिएको क्यान सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । “अवधि तोकिएको छैन, अर्को निर्णय नगर्दासम्मलाई भनेर निर्णय गरेका छौँ” प्याकुरेलले भने, “एमसीसीको टोली शनिबार नेपाल आउँदैछ, सागको तयारीका लागि पनि टुर म्याच गर्नुपर्ने हुनाले हामीले कप्तान नियुक्त गर्ने निर्णय गरेका हौँ ।”

मल्लले कम्तीमा सागसम्मका लागि नेपालको नेतृत्व गर्नेछन् । क्यानले अवधि नतोकी मल्ललाई कप्तान नियुक्त गरेकाले विश्व क्रिकेट लिग–२ अन्तर्गत खेलिने एक दिवसीयमा पनि उनलाई नै नेतृत्व दिने संभावना छ । आगामी माघमा नेपालले ओमान र अमेरिकासँग टियू क्रिकेट ग्राउन्डमा लिग–२ अन्तर्गतको त्रिदिवसीय प्रतियोगिता खेल्दैछ ।

मल्ल यसअघि एक दशक नेपाली क्रिकेट टोलीको उपकप्तान थिए भने पारस खड्का कप्तान थिए । खड्काले २८ असोजमा कप्तान पद त्यागेको घोषणा गरेका थिए ।

मल्ल नेपालकाे तर्फबाट एक दिवसीय अन्तराष्ट्रियमा पहिलाे अर्धशतक लगाउने खेलाडी पनि हुन् । उनले डेब्यु खेलमा नै नेदरल्याण्डविरुद्ध ६१ बलमा ५१ रन बनाएका थिए ।

अब नेपालले मल्लको कप्तानीमा पहिलो खेल मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्नेछ । तर, एमसीसीसँगका खेल ‘अनअफिसियल’ हुन् । सागमा भने यू–२३ टिमले भाग लिँदा तीन जना बढी उमेरका खेलाडी समावेश हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *