२०८१ साउन ११ गते | 26th of July 2024

सुत्केरी र शिशुको मृत्युपछि मनिपालमा तनाव

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते ७:३९

पोखरा, २४ जेठ ।
उपचारकै क्रममा सुत्केरी र शिशुको मृत्यु भएपछि पोखराको फुलबारी स्थित मनिपाल शिक्षण अस्पतालमा तनाव सिर्जना भएको छ । अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । सुत्केरी गराउँदा धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको हो ।
मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । हिँडेरै अस्पताल गएकी उनले बुधबार विहान सवा २ बजे मृत पुरुष शिशुलाई जन्म दिइन् । त्यतिञ्जेलसम्म अस्पतालले आमा र शिशुलाई खतरा भएको बताएका थिएनन् । नर्मल डेलिभरी भएकी शान्ताले मृत शिशु जन्माएको भन्दै अस्पतालले शिशुलाई तत्कालै मृत घोषणा गर्‍यो ।
शिशु जन्मेको करीब ३ घण्टा पछि अर्थात विहान ५ बजे चिकित्सकले आमा शान्तालाई पनि मृत घोषणा गरेपछि भने उनका आफन्त आक्रोशित भए । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।
सुत्केरी आमा र उनको नवजात शिशुको मृत्युमा चिकित्सकको लापर्वाही जिम्मेवार रहेको भन्दै आफन्तले विहानैदेखि आन्दोलन घोषणा गरेका छन् । अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।
तर अस्पताल प्रशासनले भने सुत्केरी र नवजात शिशुको मृत्युमा चिकित्सक दोषी नरहेको दाबी गरेको छ । अस्पताल प्रशासनले नवजात शिशु मृत अवस्थामा जन्मेको र सुत्केरी शान्ताको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ । विवाद समाधानका लागि अहिले वार्ता भइरहेको छ । वार्तामा अस्पताल प्रशासन र पीडितका आफन्त बसेका छन् ।
मृतक शान्ताका श्रीमान कन्सट्रक्सन मजदुर हुन् भने उनकी ८ वर्षीया एक छोरी पनि रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *