२०८१ वैशाख १६ गते | 28th of April 2024

आइसियू विस्तारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशनद्दारा ६८ लाख सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख २६ गते ६:४०

काठमान्डौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयू सेवा बिस्तार गर्न अमेरिका नेपाल मेडिकल फाउन्डेशनले ६८ लाख २५ हजार २०० रुपैयाँ सहयोग गरेको छ । ‘आईसीयू एट आर.ए.एच.एस’ प्रोजेक्टका लागि फाउन्डेशनले सहयोग रकम हस्तान्तरण गरेको हो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष प्राडा भुपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानका उपकुलपति प्राडा संगिता भण्डारीलाई चेक हस्तान्तरण गरे । सो अवसरमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो ।

फाउण्डेशनका अध्यक्ष डा. बस्नेतले आईसीयू निर्माणका लागि फाउन्डेशनले सामन उपलव्ध गराउने यसअघिको योजना भएपनि कोरोना महामारीमा त्यो तत्काल सम्भव नभएको र प्रतिष्ठानले अहिले नै अरु सामान समेत किन्ने तयारी गर्दा एकैपटक काम होस भनेर रकम उपलव्ध गराएको बताए ।

उनले यो रकमबाट प्रतिष्ठानले २ वटा प्यासेन्ट मोनिटर, २ वटा भेन्टिलेटर, एउटा इसीजी मेसिन, ४ वटा आइसीयू बेड र एउटा डेफिब्रिलेटर खरीद गर्ने बताए ।

कोरोना महामारीमा स्वास्थ्यकर्मी र अस्पताललाई ७० लाखको सहयोग :

यसैबिच फाउन्डेशनले एक करोड रुपैयाँको कोरोना कोषबाट अहिलेसम्म ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ ।

फाउन्डेशनका अध्यक्ष डा. बस्नेतले अहिलेसम्म देशभरका ६८ वटा अस्पताललाई पीपीई, एन९५ मास्क लगायतका सुरक्षा सामग्री हस्तान्तरण गरेको बताए । उनले पीपीई निर्माण गरेको महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गरेको समेत जानकारी दिए ।

‘एक करोडको फण्ड हो । अहिलेसम्म ७० लाख जतिको सहयोग भयो । अझ हामीसंग ३० रुपैयाँ छ । त्यसबाट आवश्यक ठाउंमा थप सहयोग गर्नेछौँ,’ अध्यक्ष डा. बस्नेतले भने ।

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गरेको सहयोग भने कोरोना कोषबाट नभई छुट्टै परियोजना अन्तर्गत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *