२०८१ वैशाख २४ गते | 6th of May 2024

नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढ्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १३ गते १४:४२

काठमाडौं –  नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर ( करिब एक लाख ३१ हजार रुपैयाँ) पुगेको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । यो वर्ष प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेको छ ।

यस वर्ष २.३ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको छ । नेपालले विगत तीन वर्षदेखि ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हात पारिरहेको थियो ।

कोरोना भाइरसको संक्रमण र त्यसबाट बच्न लिइएको लकडाउन नीतिले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र सीमित रहने भएको छ । फागुनपछि अर्थतन्त्रमा कोरोनाको प्रभाव देखिन थालेको थियो । जसले आर्थिक वृद्धिदरमा नराम्रो धक्का पुग्ने सरकारी तथ्यांकले देखाएको छ । सरकारले यो वर्ष कृषि क्षेत्रको आर्थिक वृद्धि २.६ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धि २.३ प्रतिशत हुने बताएको छ । विभागले कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रका रुपमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रलाई मानेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रले जीडीपीमा २८.२० प्रतिशतको योगदान गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राथमिक क्षेत्रमा २.५४ प्रतिशतको मात्र वृद्धिदर रहने अनुमान गरिएको छ ।

यो वर्ष धानको उत्पादनमा कमी आएको र महामारीको असर न्यूनिकरण गर्न अबलम्बन गरिएको प्रयासका कारण आपूर्तिमा आएको रोकवटले वृद्धिदर खुम्चिएको विभागको भनाइ छ ।द्वीतीय क्षेत्र अन्तर्गत निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी पर्छन् । यस क्षेत्रले जीडीपीमा १३.७२ प्रतिशतको योगदान गरेको छ । चालु आवमा यो क्षेत्रको वृद्धिदर समेत ३.३६ प्रतिशतमा सीमित रहने भएको छ ।

यस वर्ष उर्जा क्षेत्रको बिस्तार सन्तोषजनक छ । तर, कोभिड १९का कारण आपूर्तिमा आएको अवरोध र उत्पादनमा भएको कमीले वृद्धिदरमा प्रभाव पारेको विभागको विश्लेषण विभागको छ । सेवा क्षेत्रअन्तर्गत खुद्रा व्यापार, होटेल तथा रेष्टेरेन्ट, यातायात, संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षासमेत पर्छ । साथै, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्ति सेवासमेत यसै क्षे यसमा समेटिन्छन् । यो क्षेत्रले जीडीपीमा ५८.०८ प्रतिशतको योगदान दिएको अनुमान छ ।यस वर्ष यस क्षेत्रको वृद्धिदर १.९९ प्रतिशत मात्र रहने अनुमान छ । यस क्षेत्रअन्तर्गत बढी आम्दानी हुने होटेल र हवाई यातायातमा कोभिड १९ को महामारीका कारण प्रत्यक्ष प्रभाव परेको हो ।चालु आर्थिक वर्षमा सबैभन्दा धेरै आम्दानी होटेल तथा रेष्टुरेन्ट क्षेत्रले गुमाउने भएको छ । गत आवको तुलनामा यो क्षेत्रको मूल्य अभिवृद्धि -१६.३० प्रतिशत रहने भएको छ । विश्वव्यापी तथा आन्तरिक पर्यटनमा लागेको प्रतिवन्धको असर यस क्षेत्रमा देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *