२०८१ वैशाख १५ गते | 27th of April 2024

जुम प्रविधिमार्फत नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १३ गते १६:३०

काठमाडौँ  – नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो अबसरमा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो नभएको उल्लेख गर्दै देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउनुभएको छ । उहाँले सरकार गम्भीर नभएको आरोप समेत लगाउनुभयो ।

उहाँले कोरोनाको महामारीका बेला आफू र आफ्नो पार्टीले शुरु देखि नै नेपालको मिडिया र पत्रकारका हितमा धारणा राखेर सो बारेमा सरकारसँग आग्रह गर्दै आएको उल्लेख गर्नुभयो । सभापति देउवाले बिरगंज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको बताउँदै देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गर्नुभयो ।उहाँले श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएको, बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेको, देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन काँग्रेसले यस अघि नै माग गरिसकेको जानकारी गराउनुभयो । साथै उहाँले सरकारसँग सो बारेमा पुनः माग गर्नुभयो ।

“स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए । तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो । म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ” सभापति देउवाले भन्नुभयो ।

लकडाउन भएको दुई महिना पूरा भएपनि प‍¥याप्त परिक्षण हुन नसकेको बताउँदै उहाँले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्रीको व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित ब्यवस्थापन गर्ने र बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने विषयमा ठोस योजना हुन नसकेको स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएको बताउँदै सभापति देउवाले यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गर्दै आफ्नो सदैव साथ रहने बताउनुभयो । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजीटल क्यालेण्डर विमोचन गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई नेपाली कांग्रेसका प्रबक्ता एबम सूचना तथा संचार र प्रचार बिभागका प्रमुख विश्व प्रकाश शर्मा, छाया सरकारका सूचना तथा संचारमन्त्री एबम नेपाली कांग्रेसका सांसद बहादुर सिङ्ग लामा , नेपाल ट्रेड युनियन कांग्रेसका सभापति पुस्कर आचार्य , नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष एबम पूर्व सुचना आयुक्त किरण पोख्रेलले समेत सम्बोधन गर्नु भएको थियो। नेपाल प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने उपमहासचिब भिष्मराज ओझाले धन्यबाद ज्ञापन गर्नु भएको थियो। त्यस्तै महासचिब अजयबाबु सिवाकोटी , सुनसरीका अध्यक्ष पवन अधिकारि र विदेश शाखाहरुको तर्फबाट नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *