२०८१ साउन १२ गते | 27th of July 2024

सार्बजनिक बस संचालनको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १४ गते १४:५५

भारत – कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो पार्दै जाने निर्णय गरेसँगै त्यहाँ विभिन्न उद्योग व्यवसाय तथा कार्यालयहरु खुल्ने क्रम बढ्दै गएको छ।सोही क्रममा भारतको पश्चिम बंगालमा सार्वजनिक यातायात पनि शुरु हुने भएको छ। पश्चिम बंगाल यातायात निगम (डब्लूबीटीसी) ले आगामी बुधबारबाट ४० वटा रुटमा बस चलाउने निर्णय गरेको छ। सरकारी तथा निजी कार्यालयहरु संचालनमा आउने क्रम बढ्दै गएपछि सार्वजनिक यातायातको रुटमा बस सेवा संचालनमा ल्याउन लागेको डब्लूबीटीसीले बताएको छ।

पश्चिम बंगालको शहर तथा शहरोन्मुख क्षेत्र र जिल्लाहरुका विभिन्न रुटमा एयर कन्डिसनसहितका बसहरु समेत चलाउन लागिएको छ। डब्लूबीटीसीका प्रबन्ध निर्देशकले जारी गरेको सूचनाअनुसार पश्चिम बंगालमा बिहान ७ बजेदेखि शुरु गरेर बेलुका ७ बजेसम्म १२ घन्टा बस चलाइनेछ। यात्रुको संख्या सम्बन्धित रुटमा चल्ने कुनै पनि बसको आकार पालना गर्नुपर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड इत्यादिले निर्धारण गर्ने बताइएको छ। डब्लूबीटीसीले लकडाउनका दौरान पनि आपतकालिन उद्देश्य र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि सीमित संख्यामा बस संचालन गर्दै आएको छ।

सीमित कर्मचारी राखेर कार्यालयहरु पुनः खुल्न थालेसँगै शहरका मात्र १५ रुटमा यात्रुहरुलाई आवतजावतको सुविधा उपलब्ध गराउन खोजिएको डब्लूबीटीसीका अधिकारीले बताएका छन्। राज्य सरकारका बसहरु पनि बुधबारबाट केही जिल्लामा संचालन हुने बताइएको छ।निजीक्षेत्रका बस संचालकहरुले पनि तत्काल सेवा शुरु गर्ने कुनै पनि जानकारी गराएका छैनन्। भाडा वृद्धिका लागि राखेको माग पश्चिम बंगाल सरकारले पूरा नगरिदिने भएपछि उनीहरुले बस संचालनको कुनै योजना नबनाएको बताइएको छ।

कोभिड-१९ का कारण सतर्कता अपनाउन राज्य सरकारले बढीमा दुईजना यात्रु मात्र बोक्न पाउने नियम तोकेपछि अटोरिक्सा संचालकहरुले पनि सेवा पुनः शुरु गर्नेबारे कुनै पनि निर्णय गरिसकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *