२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपाल भारत सीमाका यी हुन् २० प्रवेश विन्दु

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २१ गते १४:३१

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम– पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेवहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ । यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतुले  सरकारले उक्त व्यवस्था गरेको हो । भारतबाहेकका देशबाट भने काठमाडाँैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *