२०८१ वैशाख १५ गते | 27th of April 2024

भारतसँगका सीमा सम्बन्धी समस्याहरू वार्ता छलफल र कूटनीतिक पहलमार्फत समाधान गरिन्छ : प्रम ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २८ गते १५:११

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको विषयमा आज जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको सामु रहेका चुनौतीहरू, नेपालको भूमि फिर्ता गर्ने, कोभिड–१९ र यसले सिर्जना गरेका अप्ठेरा र जटिलताहरूको सामना गर्न राष्ट्रिय एकता र साझा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डता भूमिमाथिको न्यायोचित हकको प्रयोग गर्ने विषय स्पष्ट रहेको भन्नुहुँदै अप्ठेरो वेलामा राष्ट्र एक हुने र राष्ट्रिय एकता कायम गर्ने राष्ट्रिय चरित्रलाई सांसदले प्रतिबिम्बित गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको सीमा समेटिएको नक्साको विषयमा कसले जस लिने र कसले देवत्वकरण गर्ने भन्ने विषय नभई यो सबै नेपालीको साझा विषय भएकोले साझा प्रयासबाटै सम्भव भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले भारतसँगको सुस्ता लगायतका अन्य सीमा सम्बन्धी समस्याहरू क्रमशः वार्ता छलफल र कूटनीतिक पहलमार्फत समाधान गर्दै जाने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा नै केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।अहिले दैनिक ४५ सय देखि पाँच हजार मात्रै पिसिआर परीक्षण गर्ने क्षमता रहेको भन्दै प्रधानमन्त्री ओलीले अनुमान गरे भन्दा बढी सङ्क्रमण फैलिएका कारण आरडिटी परीक्षण गर्नु परेको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले एउटा नाकाबाट दैनिक पाँच सात हजार मानिस भारतबाट नेपाल आइरहेको अवस्थामा स्थानीय तहले निकै कठिन अवस्थामा काम गरिरहेको भन्दै अहिले  रकमको हिसाब गर्ने भन्दा पनि कोभिड–१९ को नियन्त्रणमा नै जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सङ्कटको बेलामा भ्रष्टाचार कसैले गर्छ भने त्यो कुनै हालतमा पनि सह्य नहुने भन्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीसँग जुधिरहँदा कहीँ कतै आर्थिक अनियमितता भएको रहेछ भने छानबिन गरी कडा भन्दा कडा कारबाही गर्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले थप पिसिआर मेसिन ल्याउने, पर्याप्त किट्स ल्याउने र छिटो गर्ने सामग्री ल्याउन प्रयासरत रहेको भन्दै निकट भविष्यमा नै वर्तमान अवस्थाको समस्यामा परिवर्तन आउने बताउनुभयो । प्रधानमन्त्री भारत लगायतका देशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने प्रबन्ध गरिएको र सबैलाई सरकारले स्वदेश फर्काउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विदेशमा रोजगारीमा गएका लाखौँको सङ्ख्यामा युवा स्वदेश फर्कने क्रममा रहेको बताउनुहुँदै युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने, ठुला तथा रुग्ण उद्योग सञ्चालनसँगै स–साना कृषि उद्योग स्थापनामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले अमेरिकी सहायता परियोजना एमसिसि अघिल्लो सरकारले गरेको निर्णयको निरन्तरता भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको उद्देश्य आफूमा शक्ति केन्द्रित गर्ने नभएकोले प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका निकायहरुकोे प्रभावकारी परिचालनबाट देशमा सुशासन कायम गर्ने, विकासलाई सही ढङ्गले अघि लैजाने र जनताको आकाङ्क्षा पुरा गर्ने मात्रै सरकारको उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले रुकुमको चौरजाहारीमा भएको घटनाको विषयमा सरकार गम्भीर भएर घटनाको छानबिन गरिरहेको जानकारी गराउँदै जातीय छुवाछुत लगायतका कारण यस्ता घटना दोहोरिन नहुने भन्दै दोषीलाई कारबाही हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *