नयाँ दिल्ली – अस्पतालको कमी भएपछि भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमितको उपचार गर्न रेलका डिब्बाहरू प्रयोग गरिने भएको छ। आइतबार भारतको केन्द्रीय सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि नयाँ दिल्लीलाई रेलका ५०० डिब्बाहरू उपचारका सामाग्रीसहित प्रयोग गर्न दिने निर्णय गरेको हो।ती डिब्बाहरूमा आठ हजार बेडहरू हुने गृहमन्त्री अमित शाहले बताएका छन्। आइतबार गृहमन्त्री शाह र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालबीच छलफल भएको थियो।
साथै केन्द्रीय सरकारले त्यहाँ परीक्षणको दायरा समेत बढाउने निर्णय गरेको छ। विशेषगरी बढी संक्रमित भएको क्षेत्रमा दायरा बढाउने, ढोकाढोकामा गएर स्वास्थ्य सर्वेक्षण गर्ने र त्यस अनुसार आवश्यक पर्ने अक्सिजन सिलिन्डर तथा भेन्टिलेटर प्रदान गर्ने बताइएको छ।सबैभन्दा बढी संक्रमित राष्ट्रहरू मध्ये भारत चौथो स्थानमा छ। आइतबार मात्रै त्यहाँ १२ हजार संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। कुल संक्रमित संख्या तीन लाख २२ हजार छ।प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्चदेखि लगाएको लकडाउन अहिले खुकुलो बनाउँदै लगेका छन्। महाराष्ट्र र तमिल नाडुपछि सबैभन्दा बढी संक्रमित रहेको शहर नयाँ दिल्ली हो।
मुख्यमन्त्री केजरीवालले दुई करोड जनसंख्या रहेको दिल्लीमा जुलाईको अन्त्यसम्म संक्रमित संख्या ५ लाख कट्ने अनुमान गरेका छन्।त्यस्तै कोरोनाभाइरस संक्रमित बिरामीहरूको उपचारका लागि ६० प्रतिशत प्राइभेट अस्पतालबाट सस्तोमा उपचार गराउने तयारी भएको शाहले बताए।उनले यसबारेमा सोमबारसम्म रिपोर्ट तयार हुने समेत जानकारी दिए। प्राइभेट अस्पतालमा कोरोनाभाइरसको उपचार खर्च निकै बढी भएको भन्दै आलोचना भएपछि उनले यस्तो निर्णय गरेका हुन्।