२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २० गते १५:११

काठमाडौँ – शनिबार  थप दुई सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १५ हजार चार  सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न २३ वटा प्रयोगशालामा चार हजार ५० वटा रियल टाइम पिसिआर परीक्षण गर्दा दुई सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज अछामका ३७, सप्तरीका ३६, सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, नवलपरासीका ११, गुल्मीका नौ, प्युठानका आठ, कञ्चनपुर, मोरङ र चितवनका छ/छ, झापा र बाँकेका पाँच/पाँच, रुपन्देहीका चार, डडेलधुरा, डोटी, बागलुङ र म्याग्दीका तीन/तीन, रोल्पाका दुई, दैलेख, तनहुँ, स्याङ्जा र इलामका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

आज थप दुई सय ७२ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त भयसँगै हालसम्म सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या छ हजार चार सय १५ पुगेको छ ।

यसै गरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।  गोरखा अस्पतालमा निधन भएका गोरखा पालुङ्टारका ४४ वर्षीय पुरूष र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएका रुपन्देही देव दहका ७५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको कूल सङ्ख्या ३४ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा ३३ हजार एक सय २५ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा नौ हजार ४२ जना रहेको मन्त्रालयका प्रवक्ता  गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *