काठमाडौँ – नेपाल सरकारले केही दिन यता भारतीय मिडियामा नेपालका बिषयमा आएका सामग्री प्रति आपत्ति जनाएको छ । बिहिबार अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रबक्ता डा. युवराज खतिवडाले नेपाल र नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय सञ्चार माध्यममा आएका समाचारहरू विरुद्ध सरकारले कुटनैनिक, कानुनी र राजनैतिक सबै प्रकारका उपचार खोज्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले चरित्र हत्या गर्ने र दुर्भाव फैलाउने गरी आएका समाचार तथा विश्लेषण हरूको सरकारले भर्त्सना गर्ने बताउनुभयो । मन्त्री खतिवडाले सञ्चार माध्यमहरूलाई स्व–अनुशासन र प्रचलित मर्यादा भित्र रहन तथा सत्य तथ्यमा आधारित समाचार मात्रै प्रसारण गर्न समेत आग्रह गर्नुभयो ।