बिकास मरहट्टा
नेपाल एकीकरणका सुत्रधार पृथ्वी नारायण शाहको दरबार भूकम्पले क्षतविक्षत छ । भूकम्प गएको बीस महिनासम्म पनि यो दरबारको पुननिर्माण र मर्मत हुन सकेको छैन ।१८ पुस, गोरखा । गत बर्ष बैशाख १२ गतेको बिनाशकारी भूकम्पबाट गोरखाको पुरातात्विक तथा ऐतिहासिक गोरखा दरवार पनि अछुतो रहेन ।
‘भूकम्प गएको दुइ बर्ष पुग्न लागिसक्यो,’ गोरखा दरवारका पुजारी प्रदिप योगीले भने ‘तर दरवार मर्मतका लागि कुनै सुरसारै छैन ।’
दरवार मर्मत नहुँदा दैनिक पुजापाठ गर्न समस्या भएको उनले गुनासो गरे । योगीले भने ‘दरवारको माथिल्लो धुरीको छाना भत्किएको छ, छाएको इट्टा खसेको छ, भित्ता चर्किएको छ, डराई/डराई पुजापाठ गर्नुपर्छ ।’
भूकम्पले दरवारमा रहेको पण्डित पाटी, चौघेराको बिद्या मन्दिर, काली मन्दिर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै मूल दरवार, गोरखनाथ मन्दिर, पशुपतिनाथको मन्दिर, रोटपाटी र शित्तल पाटीमा पनि क्षति पुगेको छ ।
‘मूल दरवारको बिम र गाह्रो भत्किएको छ, आँखी झ्याल भएर मात्र गाह्रो अडेको हो नत्र खसिसक्थ्यो’, दरवार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराइले भने । त्यस्तै उपल्लो कोटको कालि मन्दिर र बज्रभैरवको पर्खालको गाह्रो भत्किएको छ ।
दरबार मर्मत तथा पुनर्निर्माण नहुँदा आन्तरिक पर्यटकसमेत घटेको अनुभव पुजारीहरुको छ । बाहृय पर्यटक आउजाउ पनि पहिले भन्दा कम भएको छ ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको गोरखा दरवारमा क्षति पुगेसँगै अहिले जोखिम मोलेर भक्तजनहरु दर्शन गर्न बाध्य छन् । ‘राजाको थोत्रो घर किन बनाउने भन्ने धेरै भए, पुननिर्माण गर्न कसैले चासो दिएका छैनन् ।’ दरवारका पुजारी योगीले दुखेसो पोखे ।
भुकम्पले गोरखकाली मन्दिरमा क्षति पुगेपछि गोरखानाथ मन्दिरको रोट पोल्ने काम समेत प्रभावित भएको छ । गोरखनाथलाई मनपर्ने परिकार प्रसादको रुपमा भक्तजनलाई दिइने रोट केही समय बाहिर पोल्नु परेको थियो । अहिले पनि रोट पोल्ने पाटी जोखिममा छ । गोरखकाली दरबारको महत्वको रुपमा रोटलाई पनि लिने गरिन्छ ।
अहिलेसम्म भूकम्पले क्षति पुर्याएको दरवारको चौघेरा छाना मर्मत भएको छ । त्यस्तै क्षति पुगेको रोटपार्टी पुननिर्माणको काम भइरहेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।
पशुपति मन्दिरको पनि मर्मत कार्य भइरहेको छ । पूर्णरुपमा क्षति भएको गोरखनाथ मन्दिर पुरानै संरचनामा पुननिर्माण गरिने दरवार हेरचाह अड्डाका प्रमुख भट्टराइले बताए ।
‘पुननिर्माण प्राधिकरणमार्फत पुरातत्व बिभागलाइ आएको ३६ लाख बजेटले क्षति पुगेको दरवारको केही संरचनाहरु पुननिर्माण र मर्मत गर्नेछौं,’ भट्टराइले भने ।
तर मूल दरवार र अन्य संरचनाहरुको पुननिर्माण र मर्मत अझै हुन सकेको छैन । दरवारको पुननिर्माण कार्य कसरी गर्ने र कुन तवरले गर्ने भन्ने निर्णय अहिले सम्म नभएको भट्टराई बताउँछन् ।
मन्दिर पुननिर्माण र मर्मतका लागी ठूलो रकम चाहिने भएपनि अहिले सम्म पुरातत्व बिभागबाट रकम नआएको उनले प्रष्ट पारे । ‘मूल दरवार मर्मतका लागी टेन्डर खोल्ने प्रक्रियामा रहेको पुरातत्व बिभागले भनेको छ तर अहिले सम्म केही जानकारी आएको छैन’, भट्टराइले भने ।
अबको बर्षासम्म पनि मन्दिर पुननिर्माण र मर्मत नभए ठूलो क्षति हुनसक्ने अध्यक्ष भट्टराईको अनुमान छ, अनलाइनखबरमा छपिएको छ ।