गोरखा – गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापित मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात छनोट भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशकको पदमा छनोट गरेको हो ।
निर्देशक सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष सदस्य थिए । उक्त गठन भएको समितिले गठन आदेश र कार्यविधिमा रहेर काम गर्नु पर्ने उनले जानकारी दिए ।
कार्यकारी निर्देशक हुन ४ जनाले आवेदन दिएका थिए । बस्न्यातसहित मनकामनाकै गणेश थापा, मिलन श्रेष्ठ र रोशना घिमिरेको पनि आवेदन परेको हो । मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ । क्षेत्र विकास समितिको सबै प्रशासनिक काम गर्ने जिम्मेवारी कार्यकारी निर्देशकको हुन्छ । यसअघि क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरिएको छ ।
मनकामना मन्दिरको भेटी व्यवस्थापन निकै चुनौतीपूर्ण छ । अब आउने समितिले मन्दिरको हित र भेटी व्यवस्थापन लगायतलाई प्रथमिकतामा राखेर काम गर्ने बस्न्यातले बताए । संघ सरकार मातहत रहेको मन्दिर अघिल्लो वर्षदेखि प्रदेश सरकारको स्वामित्वमा आएको हो ।
स्रोत : दरौंदी