२०८१ वैशाख १८ गते | 30th of April 2024

१५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउदै

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १४ गते १६:०७

काठमाडौँ –   नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ ।  नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति दिने तयारी गर्दैछ ।
बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट निवेदन माग गरेकामा ४२ वटा निवेदन दर्ता भएको बोर्डले जनाएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड, ती उद्योग तथा व्यवसायीले पूरा गरे नगरेको अध्ययनपछि लोगो प्रयोग गर्न सिफारिस गर्ने बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो ।
प्रवक्ता खनालले आगामी भदौ महिनाभित्र लोगो प्रदान गर्ने तयारी भएको बताउनुभयो ।
लोगो प्रयोगमा ल्याइएपछि व्यवसायीले सोझै पठाउने गरेको चियालाई आफ्नो उद्योगको लोगोसहित पठाउन पाउने भएका छन् । यद्यपि व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । लोगो प्रयोग गर्नुअघि व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्ने छ ।
कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने र त्यसको अनुगमनको सजिलो उपाय रहेको पनि प्रवक्ता खनाल बताउनुहुन्छ । उहाँले यदि निर्देशिकामा भएका विषय र आचार संहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने छ । यो निर्देशिका र आचार संहिताले किसानलाई समेत गुणस्तरीय चिया बनाउन बाध्य गराएको छ । लोगो कार्यान्वयनपछि समितिले किसानको चियाबारी, चिया टिपाइ समेतको निरीक्षण र अनुगमन गर्ने छ भन्नुभयो ।
यस्तै उद्योगमा पनि कसरी गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको काम भइरहेको छ ? त्यसको पनि कडाइका साथ अनुगमन हुनेछ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा पनि दर्ता गराउन भने अनिवार्य छ । बोर्डले यसअघि अमेरिका, यूएई र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो ।
विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिन प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो छ । प्रक्रिया भन्झटिलो भएपछि बोर्डले यूएईको प्रक्रियाबाट भने पछि हट्नु परेको प्रवक्ता खनाल बताउनुहुन्छ । उहाँका अनुसार अमेरिका र भारतमा भने नेपाली लोगो दर्ताको प्रक्रिया चलिरहेको छ ।
अहिलेसम्म जर्मनी, रसियासहित युरोपियन मुलुकमा नेपाली चिया जाने गरेको छ । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर जाँदा नेपाल र नेपाली चियाको पहिचान विदेशी बजारमा राम्रो हुने अपेक्षा लिएको केन्द्रीय चिया सहकारी संस्थाका अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ ।
दाहालले लोगो प्रयोग गर्ने मापदण्ड, जम्मा भएको रकम के गर्ने भन्ने सम्पूर्ण विषयको टुङ्गो लाग्यो भने लोगो प्रयोगमा सहज हुन्छ । नेपालमा वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय हो भन्नुभयो ।
चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ५९ प्रतिशत किसानले आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती गर्दै आएका छन् ।   (गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *