२०८१ वैशाख २३ गते | 5th of May 2024

नेपालमा लकडाउन अन्त्य सगै संक्रमणको दर बढ्यो ,

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १७ गते १३:२४

काठमाडौँ -लकडाउन खुकुलो भएयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।मन्त्रालयका अनुसार लकडाउन खुकुलो भएपछिको ११ दिनमा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये पछिल्लो पाँच दिनमा मात्रै एक हजार तीन सय जनाभन्दा बढी सङ्क्रमित भएका छन् । लकडाउन खुकुलो हुनुअघिको ११ दिनमा सङ्क्रमित हुने एक हजार ३४५ रहेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षणको दायरा बढेकोले समेत सङ्क्रमित बढी भएको जानकारी दिनुभयो । उहाँका अनुसार असार २७ गतेदेखि साउन ६ गतेसम्म ४७ हजार ८७७ जनाको स्वाब परीक्षण गरिएको थियो । उक्त अवधिमा सङ्क्रमण दर २.८ प्रतिशत रहेको थियो । अर्थात उक्त अवधिमा प्रति एक सय जनाको परीक्षण गर्दा करिब २.८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको थियो ।लकडाउन खुकुलो भएपछिको ११ दिनमा ५८ हजार १७४ जनाको स्वाब परीक्षण गरिएको छ । साउन ७ गतेदेखि साउन १७ गतेसम्ममा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको हो । लकडाउन खुकुलो भएयताको अवधिमा सङ्क्रमण दर ३.६ प्रतिशत पुगेको छ । लकडाउनअघि र पछिको एघार दिनमा शून्य दशमलव आठ प्रतिशतले सङ्क्रमित बढेका छन् ।

लकडाउन खुकुलो भएपछिको पहिलो सातामा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या एक सयदेखि १३० सम्म कायम रहेको थियो । तर पछिल्लो चार दिनमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको छ । लकडाउन खुकुलो भएको एक सातापछि मात्रै यथार्थ असर बुझ्न सकिने जनस्वास्थ्य विज्ञहरूले बताएका थिए । साउन १२ गते १३९ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट ३११ जना नयाँ सङ्क्रमित पुष्टि भएको थियो । त्यसयता सङ्क्रमित पुष्टि हुने दर अस्थिर देखिएको छ । पछिल्लो पाँच दिनमा मात्रै एक हजार ३३४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पाँच दिनमा ३५ हजार १३४ स्वाब परीक्षण गरिएको छ । यसरी पछिल्लो पाँच दिनमा सङ्क्रमण दर ३.७९ प्रतिशत रहेको छ ।साउन १३ गते ३११ जनामा सङ्क्रमण पुष्टि भएको थियो । भोलिपल्ट २१० जना सङ्क्रमित पुष्टि हुँदा साउन १५ गते २७४ र साउन १६ गते २२४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन १६ गते भने दश हजारभन्दा बढी स्वाब परीक्षण गरिएको थियो ।लकडाउन खुकुलो भएपछिको अवस्थामा बजारमा चहलपहल बढेको छ । सीमावर्ती क्षेत्रमा आवागमनसमेत खुकुलो गरिँदा त्यसको असर सङ्क्रमणमा परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *