२०८१ वैशाख २३ गते | 5th of May 2024

कोरोना संक्रमणको जोखिम आफनै पार्टीकाले बुझेनन : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २० गते १५:०६

काठमाडौ  –   कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले जनस्वास्थ्य बिज्ञहरुसँग छलफल गरेको छ ।

आज प्रधानमन्त्री निवास बाल्ुावाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजबादी पार्टीका नेता महन्थ ठाकुर सहित जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २५ जनाभन्दा बढी भेला नहुने नियम बनाईएको तर त्यो आफ्नै दलले पनि नमानेको जस्तो गर्ने र केन्द्रीय कमिटीको बैठक बस्नैपर्ने जस्ता कुरा यस समयमा उपयुक्त नरहेको र त्यसलाई सबैले बुझ्नुपर्ने बताउनुभयो ।लकडाउन गर्दा किन गरेको, नगर्दा किन नगरेको, क्वारेन्टाईन राख्दा किन राखेको, नराख्दा किन नराखेको जस्ता टिकाटिप्पणी हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो टिकाटिप्पणी कोभिड १९ को संकटका अवस्थामा विरोधका लागि विरोध जस्तो मात्र हुने गरेको र त्यसले कसैलाई पनि फाईदा नपुग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीसँगको आजको छलफलमा सहभागीहरुको मिश्रित प्रतिक्रिया आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले छलफलमा केही सहभागीले लकडाउनसंगै स्वास्थ्य सजगता अपनाउन र केहीले बढी संक्रमण देखिएका ठाउँलाई मात्रै सिल गरी अन्य गतिविधि सजगताकासाथ सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभएको बताउनुभयो ।बैठकको अन्त्यमा प्रधानमन्त्री के पी शर्मा ओलीले आजको छलफलमा आएका सुझावलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति र मन्त्रीपरिषद्मा छलफल गरि ठोस निणर्य लिईने बताउनुभएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पि सि आर परीक्षण बढाउनुपर्ने, स्वास्थ्य सजगता कडाईका साथ अपनाउने वातावरण बनाउनुपर्ने र सबै मिलेर कोभिड–१९ संकट व्यवस्थापन गर्नुपर्ने र यसकालागि आफूहरु पनि सरकारको साथमा रहेको बताउनुभयो ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञहरुले लकडाउन खुलेपछिको अवस्थामा सजगता नअपनाईरहेको देखिएकाले आफूहरुले त्यस सन्दर्भमा जुनसुकै विधिबाट भएपनि कडाई गर्नुपर्ने सुझाव दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *