२०८१ वैशाख २२ गते | 4th of May 2024

कोरोना बिरामीलाई उपचार नगर्ने अस्पताललाई कार्वाही गरिने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३ गते १४:१६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि मन्त्रालयले यसप्रकारको व्यवस्था गर्न लागेको हो । मन्त्रालयले यसअघि मेडिकल कलेज र प्रतिष्ठानलाई कम्तीमा एक तिहाइ शय्या कोभिड–१९ सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना नभएको गुनासो बढेको छ ।
विराटनगर, प्रदेश २ को वीरगञ्ज र जनकपुरधामसहित देशका अन्य भागमा समेत निजी अस्पतालले कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचार गर्न अस्वीकार गर्दैआएको छ । सङ्क्रमित वृद्धि हुँदा सरकारी अस्पतालको क्षमताले धान्ने अवस्था देखिन्न । यस्तो परिस्थितिमा उपचार नै नपाई बिरामीको मृत्यु भएपछि मन्त्रालयले निजी अस्पताल र प्रतिष्ठान वा मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ बिरामीका लागि २० प्रतिशत शय्या उपलब्ध नगराउने निजी अस्पतालाई पीसीआर परीक्षण गर्न दिइएको अनुमति खारेज गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । कोभिड–१९ बिरामीको उपचारका लागि एक तिहाइ शय्या व्यवस्थापन गर्ने मेडिकल कलेजलाई भने पीसीआर परीक्षणको अनुमति दिने मन्त्रालयले व्यवस्था गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा १९ वटा मेडिकल कलेज सञ्चालनमा छन् । जसमध्ये चारवटा सार्वजनिक र १४ वटा निजी तथा एउटा नेपाली सेनाले सञ्चालन गरेको छ । प्रत्येक मेडिकल कलेजको छुट्टाछुट्टै क्षमता रहेको छ । मेडिकल कलेजको अस्पतालमा कम्तीमा दुई सयदेखि पाँच सय बिरामीसम्म अटाउन सक्ने क्षमता रहेको छ । मन्त्रालयले प्रत्येक शिक्षण अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ बिरामीका लागि छुट्याउन गत साता निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *