२०८१ वैशाख १६ गते | 28th of April 2024

५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिमा वायुसेवा संचालकहरुको आपत्ति

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३१ गते १५:३९

काठमाडौ  । सरकारले ५० प्रतिशत क्षमतामा हवाई उडान गर्न दिएको अनुमतिप्रति आन्तरिक वायुसेवा कम्पनीहरूले असन्तुष्टि प्रकट गरेका छन्।निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले सरकारको निर्णय अनुसार आधा क्षमतामा यात्रु नउडाउने निर्णय गरेको छ। बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रूपेश जोशीका अनुसार ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसकिने भएकोले ५ असोजबाट पनि आन्तरिक वायुसेवा उड्ने छैनन्। उनले भने, “चैतदेखि उडान भएको छैन। आधा क्षमतामा उडान गरेर फाइदा पनि हुँदैन। र, अन्तर्राष्ट्रिय अभ्यास विपरीत नेपाली वायुसेवा जान नसक्ने हुँदा सरकारको निर्णयमा सहमत हुन सकिएन।”

जोशीका अनुसार भाडा बढाउन सरकारबाट अनुमति छैन र आधा क्षमतामा भाडा बढाएर पनि उडान गर्न सकिदैन। जोशी भन्छन्, ‘‘हाम्रो माग पूर्ण क्षमतामा भाडा नबढाइ उडान गर्ने भएकोले जबसम्म सरकारले पूर्ण क्षमतामा उडान अनुमति दिँदैन तबसम्म आन्तरिक वायुसेवा उड्दैनन्।’’  आन्तरिक वायुसेवाले ५० प्रतिशत यात्रु क्षमतामा १ असोजदेखि उडान सञ्चालन गर्न पाउने निर्णय सरकारले ३० भदौमा सार्वजनिक गरेको थियो।
सरकारले १ असोजदेखि आधा क्षमतामा मात्रै उडान गर्नुपर्ने निर्णय गरेको भएपनि पर्यटन मन्त्रालयले भने आवश्यक तयारी गर्नुपर्ने भएकोले ५ असोजदेखि मात्रै उडान गर्न स्वीकृति दिएको छ। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने ‘‘सरकारले अनुमति दिएकै दिनदेखि उडान गर्न वायुसेवालाई तयारी पुगेन, त्यसैले आवश्यक तयारी गर्नुपर्ने भएकोले थप ४ दिनको समय दिइएको हो।’’ कोभिडको संक्रमणबाट बच्न र जोखिम न्यूनिकरणका लागि आधा क्षमतामा उडान गर्नुपर्ने भएपनि भाडा भने बढाउन नपाइने गरी उडान गर्न सरकारले स्वीकृति दिएको छ। सोही अनुसार गर्नुपर्ने भन्दै पर्यटन मन्त्रालयले वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार पर्यटन मन्त्रालयले ५ गतेबाट उडान अनुमति दिने भनेर वायुसेवा कम्पनीलाई परिपत्र आएको छ। सोही अनुसार उडान गर्नुपर्ने हुँदा भोलि (१ असोज)देखि उडान गर्ने सरकारको निर्णय सार्वजनिक भएपनि वायुसेवालाई अनुमति भने ५ गतेबाट मात्रै गर्ने गरी आएको हो। शर्माका अनुसार सरकारको निर्णय अनुसार ५ गतेदेखि हेलिकप्टर मात्रै उड्नेछन्।
वायुसेवा सञ्चालकहरूले बुधबार ५० प्रतिशत यात्रु राखेर उडान गर्दा भाडा बढाउनुपर्ने अन्यथा शतप्रतिशत नै यात्रु राख्न पाउनुपर्ने मागसहित पर्यटन मन्त्रालयसमक्ष गुनासो समेत गरेका थिए। पर्यटन मन्त्रालयले सरकारले दिएको निर्देशन बाहिर जान नपाइने र एक सातालाई सरकारको निर्णय अनुसार नै उडान गर्न आग्रह गरेको शर्मा बताउँछन्।

मन्त्रालयले वायुसेवा कम्पनीलाई एक साताको लागि आधा क्षमतामा र वायुसेवाको कुल उडानमध्ये एक चौथाइ मात्रै गर्न अनुमति दिएको छ। यो निर्णयलाई वायुसेवा कम्पनीहरूले स्वीकार गरेका छैनन्। मन्त्रालयले भाडा र उडान क्षमता बढाउन दिने आश्वासन दिए पनि एक सातापछि मात्रै उडान गर्ने जानकारी वायुसेवा कम्पनीले दिएका छन्।

सरकारलले भनेअनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उडान भने शुरू गर्न दिएको छ। एक सातापछि भाडा बढाउने वा यात्रु क्षमता बढाउने समझदारी गर्न पर्यटन मन्त्रालयले भनेपनि वायुसेवा कम्पनी सहमत नभएको वायुसेवा संघका प्रवक्ता शर्माले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *