एजेन्सी २४ असार । भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनरत गोर्खामाथि सुरक्षाकर्मीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो।
घटनाको विरोध गर्दै गोर्खाल्यान्ड समर्थकले शनिबार दार्जिलिङमा निकालेको र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा थप २ जनाको मृत्यु भएको हो । गोर्खाल्यान्ड समर्थकसँग भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको छ । दुवै घटनाको विरोधमा दार्जिलिङकै सिंहमारीमा भएको प्रदर्शनमा पुनः सुरक्षाकर्मीले गोली चलाउँदा रोपवेका समीर गुरुङको मृत्यु भएको आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । दुवैको घाँटी र टाउकामा गोली लागेका दुवैको घटनास्थलमै मृत्यु भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि पनि खुकुरी प्रहार गरेका थिए । तर, हताहतीको यकिन विवरण आउन बाँकी नै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भाषाको विषयलाई लिएर दार्जिलिङमा ८ जुनयता दिनहुँ तनाव भइरहेको थियो । शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको मोर्चाले १५ जुनमा अकास्मात् आमहड्ताल आह्वान गरेपछि अहिलेसम्म खुल्न सकेको छैन । आन्दोलनकारीको अनिश्चितकालीन आमहड्तालका कारण दार्जिलिङसहित, मिरिक, कालेम्पोङ, डुवर्सलगायत क्षेत्र ठप्प छन् । बन्दका कारण यातायात, बजार, पसल, होटल, स्कुल, उद्योग, कलकारखाना लगायत सबै ठप्प छन् । १४ र १५ मा पनि यहाँका चिया मजदुरले सेवा–सुविधा वृद्धको माग राख्दै आमहड्ताल गरेका थिए । बन्द जारी रहेका बेला प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्तामाथि जुन १७ मा गोली प्रहार हुँदा मोर्चाका ३ कार्यकर्ताको मृत्यु भएको थियो ।