काठमाडौ – कोरोनाको जोखिम कम भएर नभई दैनिक जीवन सहज बनाउनका लागि लकडाउन खोलिएको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले यो बेला सबैले सतर्कता अपनाउन जरुरी रहेको बताए। यस्तै सरकारले मापदण्ड विपरित पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ। घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे। यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। त्यस्तै मन्त्रिपरिषदको बैठकले नेपाल र ईजरायल सरकारबीच नेपालमा कृषिका बिशेष क्षेत्रहरु स्थापना गर्न समझदारी गर्न ईजरायलस्थित नेपाली राजदूतलाई अख्तियारी प्रदान गरेको छ ।