काठमाडौं – प्रदेश ५ सरकारले आफ्नो राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव गरेपछि त्यसको विरोधमा रुपन्देहीमा विरोध सुरु भएको छ । प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने निर्णय गरेको थियो भने आन्तरिक मामिला मन्त्रीले यो प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको हो । प्रदेश सरकारको उक्त प्रस्तावलगत्तै त्यसको स्वागत र विरोधमा आन्दोलन गरिएको छ । दाङवासीले स्वागत गरेका छन् भने रुपन्देहीमा यसको विरोधमा टाएर बालिएको छ ।प्रदेश सभामा प्रस्ताव पेस भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले टायर बालेर प्रदर्शन थालेको छ भने नेपाली कांग्रेस जिल्लाले पनि विरोध जनाएको छ । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन गर्ने बताएका छन् ।
संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग बिना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले निकै स्तब्ध र मर्माहात बनाएको सभापति रज्जाकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ उनले भनेका छन् ।
उक्त प्रस्तावमाथि आगामी सोमबार प्रदेश सभामा छलफल हुने छ ।