२०८१ वैशाख २४ गते | 6th of May 2024

अत्यावश्यक बाहेक काठमाडौं उपत्यका भित्र प्रवेश नगर्न आग्रह , शनिवार २ हजार १ सय २० संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १७ गते १४:०४

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेको हुनाले अत्यावश्यक अवस्थामा बाहेक काठमाडौं उपत्यका भित्र प्रवेश नगर्न आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले उपत्यका भित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको हुनाले अत्यावश्यक कामका लागि बाहेक उपत्यका प्रवेश नगर्न सबैलाई आग्रह गर्नुभयो । प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार आज देश भरीबाट २ हजार १ सय २० जना संक्रमित थपिँदा काठमाडौ जिल्लाका मात्रै १ हजार १ जना रहेका छन् । यसैगरी उपत्यकाका अन्य दुई जिल्लाहरू ललितपुर र भक्तपुरमा क्रमशः १ सय ९ र ६७ जना संक्रमित थपिएका छन् । उच्च दरमा संक्रमण फैलिरहका उपत्यका बाहिरका जिल्लामध्ये आज सुनसरीमा १ सय २२, मोरङमा १ सय ११, रूपन्देहीमा ९८ कैलाीमा ९३, रौतहटमा ८२, चितवनमा ७५ जना संक्रमित थपिएका छन् ।

आज १२ हजार ९ सय ७८ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा विभिन्न ५७ जिल्लाका ७ सय ६६ महिला र १ हजार ३ सय ५४ पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो । आजको थपिएका संक्रमितहरू सहित नेपालमा हालसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण पुष्टी भएको छ । यसैगरी आज २ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएपछि हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६२ हजार ७ सय ४० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न ७४ जिल्लामा गरी २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ११ हजार ५ सय २९ जना होम आइसोलेसन र ९ हजार ७ सय ७३ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।

यसैगरी, गम्भीर लक्षण भएका २ सय १७ जना संक्रमितको आईसियु र ३१ जना संक्रमितको भेन्टीलेटरमा उपचार भईरहेको छ । मनाङ्, मुस्ताङ र डोल्पामा भने कोही पनि संक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज २ महिला र ६ पुरूष गरी थप ८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । आज काठमाडौका २ जना तथा सुनसरी, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन र कैलालीका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको कूल संख्या ५ सय २८ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *