२०८१ वैशाख १९ गते | 1st of May 2024

महामारीबाट जनतालाई जोगाउन संवेदनशीलता देखाउन सरकारलाई कांग्रेसको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ३ गते १४:३९

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन संवेदनशीलता देखाउन आग्रह गरेको छ । सरकारले कोरोना भाइरसको परीक्षण र उपचार गर्नुपर्ने तथा उपचारका क्रममा संक्रमितको मृत्यु भए आफन्त आफैँले शवको व्यवस्थापन गर्नुपर्ने निर्णय गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीलाई महामारीबाट जनतालाई जोगाउन संवेदनशीलता देखाउन आग्रह गरेको हो ।   “सांसद विकास कोष, दसैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य थियो । कर्तव्य आत्मसात् गरेर कार्य गर्न चेतावनी दिँदै नेपाली कांग्रेस कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपिल र आग्रह गर्दछ,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहारका रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको स्मरण गराउँदै कांग्रेसले संक्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने प्रस्ट्याइएको  छ ।   “सर्वोच्च अदालतले केहीअघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्‍ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,” विज्ञप्तिमा भनिएको छ ।  कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्‍वारेन्टिन र शव व्यवस्थापनमा लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिह्‍न’ खडा गरिसकेको कांग्रेसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *