काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको पुनर्निमाणको संरचना उद्दघाटन पछिको कार्यक्रममा राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत व्यक्त गर्नूभयो । करिब तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको पनि उहाँले वताउनुभयो । 





यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ ।