२०८१ वैशाख २१ गते | 3rd of May 2024

भारतीय गूप्तचर प्रमुखलाई प्रधानमन्त्री ओलीले एकल भेट गरेको नौलो घटना भन्दै प्रवक्ता श्रेष्ठले गरे आशंका

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ९ गते ९:२२

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक एवम् कुटनीतिक इतिहासमा प्रधानमन्त्रीले पहिलोपल्ट गुप्तचर निकायका प्रमुखलाई भेटेको बताउदै आफनै अध्यक्षको आलोचना गरेका छन । नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै श्रेष्ठले  यसले नेपालको सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने बताएका छन् ।

“केहीदिन गोरखा र चितवनको भ्रमण गरेर काठमाडौं फर्किएको छु । यसबीचमा भारतको गुप्तचर संस्था ‘र’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ । हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पर्टाीमा यसबारेमा कुनै संस्थागत एवम् औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ व्यक्त विचार मेरो निजी विचार हो । मेरो विचारमा नेपालको राजनीतिक एवम् कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको । नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । विदेशी सरकार प्रमुखले औपचारिकरुपमा आफ्नो विशेष दूतकारुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन ? यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ,”

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *