२०८१ साउन १२ गते | 27th of July 2024

अण्डा धेरै खाने बानी पो छ कि ?

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १३ गते १३:४५

काठमाडौ-   एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हानी पुर्याउने र उमेर नपुग्दै मृत्यु हुने बताएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो । उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो ।

अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् । उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन् । दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ । सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो ।’हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिस उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा मात्रै हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,’ अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न यूनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन् ।

यसअघि गरिएका अध्ययनहरूले अण्डा खानु र मुटुरोगको कुनै सम्बन्ध नरहेको देखाएकोमा यो नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ ।तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए ।यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटि  हुनसक्ने बताएका छन् ।सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएको बारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ । अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको खान्की र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रुपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्। ‘यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,’ लण्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने । ‘यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ ।’

त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त ?

अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन् । उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो । ‘मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *