काठमाडौ – तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटकको ठुलो भिड लागेको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा तनहुँ र छिमेकी जिल्लासंगै देशका विभिन्न स्थानबाट पर्यटकहरु ठुलो संख्यामा शनिबार मानहुँकोट आएका थिए । शनिबार मात्रै १० हजारभन्दा बढी पर्यटकले मानहुँकोट भ्रमण गरेको व्यास–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । शनिबार अहिलेसम्मकै धेरै संख्यामा पर्यटक मानहुँकोटमा आएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

’मानहुँकोट आन्तरिक पर्यटकको घुँइचो लागेको थियो ।’ वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो ’यसठाउँको व्यवस्थापनमा अझैँ धेरै काम गर्न बाँकी रहेको छ ।’मानहुँकोटमा भ्यु टावरको काम अघि बढेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब बाँकी रहेको बाटो पनि छिट्टै नै कालोपत्रे हुने तयारीमा रहेको छ ।
छैन सार्वजनिक शौचालय र पार्किङ्ग
पछिल्लो समय अत्याधिक ठुलो संख्यामा पर्यटक पुग्ने गरेको मानहुँकोटमा सार्वजनिक शौचालय भने छैन । सार्वजनिक शौचालय नहुँदा बाहिरबाट मानहुँकोट पुग्ने पर्यटकलाई शौच गर्न समस्या हुने गरेको देखिन्छ । शनिबार चितवनबाट मानहुँकोट घुम्न आउनुभएको पुजा भट्टराईलाई पनि सार्वजनिक शौचालय नहुँदा शौच गर्न समस्या भएको बताउनुभयो ।
उक्त विषयमा स्थानीय सरकारले छिटोभन्दा छिटो कदम चाल्नुपर्ने भट्टराई बताउनुहुन्छ । उहाँजस्तै मानहुँकोट पुग्ने हजारौं पर्यटकले उस्तै खाले समस्या झेल्नु परेको छ ।त्यस्तै मानहुँकोटमा अर्को समस्या भनेको पार्किङ्गको हो । शनिबार नै सो दृश्य प्रष्ट रुपमा देख्न सकिन्थ्यो । ठुलो संख्यामा पर्यटक जाँदा सवारी साधन पार्किङ्ग गर्ने ठाउँको अभाव देखिएको थियो । सोही कारण सवारी साधन सडक छेउमै पार्किङ्ग गरिएको थियो । सडकको दुवै छेउमा सवारी साधन पार्किङ्ग गरिदिँदा सडक जाम भएको थियो । मानहुँकोट जाने र फर्कनेको भिड अनि त्यहिमाथि सडकमा गरिएको अव्यवस्थित पार्किङ्गले करिब ३ किलोमिटर जाम भएको थियो ।
दमौलीबाट मानहुँकोट घुम्न पुगेका गोविन्द तिमल्सेनाले शनिबार जत्तिको भिड अहिलेसम्म मानहुँकोटमा नदेखेको बताउनुभयो । उहाँले भन्नुभयो ’मानहुँकोट धेरै पटक आको थिए तर आज जस्तै जाम नै पर्ने गरी भिड भने देखेको थिइन् ।’ पार्किङ्गको लागि व्यवस्थित स्थान बनाउनुपर्ने तिमल्सेना बताउनुहुन्छ ।

त्यस्तै सरसफाईमा विशेष ध्यान दिनुपर्ने हेटौँडाबाट मानहुँकोट घुम्न आउनुभएका प्रसुज मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो ’जो घुम्न आउनुहुन्छ उहाँहरुले गरेको फोहोर उहाँहरुले नै सफा गरेर फर्किनुपर्छ ।’ उहाँ अगाडि भन्नुहुन्छ ’घुम्न जादाँ आफ्नो पाइलाको डोप मात्रै छोडेर फर्किने हो नकी फोहोर ।’ हरेक पर्यटकीय गन्तव्य सफा राख्नु सबैको दायित्व भएको मैनालीले बताउनुभयो ।

मानहुँकोटमा विशेष गरी बिहानको सुर्योदयको समयमा घुइचो लागेको देख्न सकिन्छ ।
अहिले सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा मानहुँकोट फोटो, भिडियो भाइरल भइरहेको छ । 
घुम्न जानेले फोहोर व्यवस्थापन नगर्दा समस्या
पर्यटक बढेसँगै मानहुँकोटमा फोहोर समेत बढेको छ । दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । दैनिक जाने पर्यटकले आफुले लागेको खानेकुराबाट निस्कने फोहोर व्यवस्थापन नगर्दा फोहोरको थुप्रो बढ्न थालेको हो ।
सूर्योदय, बादलले ढाकिएको सुन्दर दृश्य र हिमाल हेर्नको लागि मानहुँकोटमा आउने क्रम पछिल्लो दिनमा बढिरहेको छ । दिँउसो घुम्न जाने तथा जाडो महिना सुरु भएसँगै रात्री बसाई (क्याम फायर)का लागि मानुङकोटमा बस्ने समुहले लैजाने खानेकुरामा निस्कने गरेको प्लास्टिक जन्य, सिसाका बोतल लगाएतका फोहोरको थुप्रो देखिने गरेको छ । आफुले लागेको सामग्रीबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगरिदिँदा मानहुँकोटमा फोहोरको थुप्रो थुप्रिन थालेको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक, युटुबदेखि विभिन्न माध्यमबाट मानहुँकोटको प्रचारप्रसार भइरहेको छ । मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेषगरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ ।मानहुँकोटमा सरसफाई गर्न सफाई कर्मचारी राख्ने तयारी भईरहेको व्यास–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बतानुभयो ।

सुरक्षामा चुनौती
पर्यटक बढेसँगै सुरक्षामा चुनौति समेत थपिएको छ । विशेषगरी मानहुँकोटमा राती गएर मदिरापान गरी होहल्ला गर्ने समुहबाट सुरक्षा चुनौति थपिएको गुनासोहरु आउन थालेका छन् ।
राती गएर क्याम्प फायर गर्न समुह पनि पछिल्लो दिनमा दैनिक बढेको छ । अन्य दिनभन्दा बिदा र शुक्रबार, शनिबार रात्रिबसाईका लागि मानहुँकोट समुहमा पुग्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको छ ।
अहिलेसम्म कुनै अप्रीय घटना नघटेपनि यस्तै खाले क्रियाकलापले कुनै दिन नराम्रो घटाना घट्न सक्ने अवस्था देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
’भिडभाड बढेको जानकारी हामीलाई छ ।’ प्रमुख पौडेलले भन्नुभयो ’स्थानीय पालिकासँग समन्वय गरेर सुरक्षामा कडाई गर्नेछौँ ।’ उहाँले अगाडि भन्नुभयो ’स्थानीय तहले पुर्ण रोक लगाउने निर्णय गरे हामी बन्दै गर्न समेत सहयोग गर्नेछौ ।’
बेला बेलामा प्रहरीको टोलीले पेट्रोलिङ गरिरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । मदिरापान गरेर होहल्ला गर्नेलाई नियन्त्रणमा लिएर कारबाही समेत गरिने प्रमुख पौडेलले बताउनुभयो ।
नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएका कारण थप कडाईका साथै अनुगमन गर्न सुरक्षा निकाय र सरोकारवाला निकायलाई निर्देशन दिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।
मानहुँकोटमा निश्चित स्थान र समय तोकेर बस्ने व्यवस्था गरे सुरक्षा व्यवस्थापनमा सहज हुने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
मानहुँकोटबाट के–के देखिन्छ ?
मानहुँकोटबाट धवलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।
मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन सकेको छैन ।
कसरी पुग्ने ?
तनहुँको सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्ग हुँदै पोखरा जाने क्रममा व्यास नगरपालिका–५ चापाघाट आउँछ । चापाघाट हुँदै मानहुँकोट पुग्न सवारी साधानमा २० देखि २५ मिनेट समय लाग्छ । मानुङकोट पुग्न दमौलीबाट जीप पनि पाइन्छ । दमौलीदेखि करिब ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटको सडक १.५ किलोमिटर कालोपत्रे र बाँकी कच्ची रहेको छ ।सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको व्यास–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताउनुभयो ।चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ ।