न्यूयोर्क – पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ ।
अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन गर्दैै आएकी फरेस्ट सोबलले गरेकी छिन् भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिएका छन् । पुस्तकको अडियो ६ घण्टा १५ मिनेट लामो रहेको छ ।
अमेजनमा अडियोबुकको मूल्य १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत डिस्काउन्टसहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ ।
अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मको लागि निशुल्क रहेको छ । त्यसपछि अन्य कैयन पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्टस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।
पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपाली भाषाका पुस्तकको अडियोबुकका लागि समेत बाटो खुलेको कम्पनका लेखक किशोर पन्थीले बताएका छन् ।

कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एकबर्षको अवधि लागेको पुस्तकका वाचक सुरेश शाहीले बताए । कोरोनाको महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्नमात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको शाहीले जानकारी दिए । अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको उनले बताए ।