२०८१ वैशाख २३ गते | 5th of May 2024

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २३ गते १५:०१

काठमाडौं – सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर कायम भएको छ ।  नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । नेपालले करीब दुई वर्ष लगाएर पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । यसअघिको सगरमाथाको उचाइ ८८४८ मिटर सन १९५४ मा सर्वे अफ इन्डियाले मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता भएको थियो ।सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सगरमाथाको मापनले यसको आधिकारीक एवं वैज्ञानिक तथ्य प्राप्त भएको बताउनुभयो ।परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले केही समयअघि नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको स्मरण गर्नुहुँदै सगरमाथाको नयाँ उचाइ घोषणा अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले हिमालय पर्वत श्रृंखला २ अर्ब मानिसको खानेपानीको श्रोत भएकाले जलवायु परिवर्तनको जोखिमबाट जोगाउनु चुनौतीपूर्ण रहेको हुँदा यसमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।कार्यक्रममा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको मापनबाट नेपालको भूमापन कार्यको लागि आवश्यक भूधरातलीय स्वरुप निर्धारण गर्न सहयोग पुगेको बताउनुभयो ।विभिन्न देशहरुले गरेको उचाइ मापनमा सगरमाथाको उचाइ फरक फरक देखाएकोमा नयाँ मापनले सबै आशंका र दुविधाहरुको अन्त्य गरेको बताउनुभयो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोत साधन र जनशक्तिको प्रयोगबाट विश्वको सर्वोच्च शिखरको मापन गर्नु विभागका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले एकैसाथ भर्चुअल रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नुभएको थियो । त्यस अवसरका सगरमाथाको उचाइ मापनमा योगदान पुर्याउनु हुने प्रमुख नापी अधिकृत खीमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्वेक्षक सुरज सिं भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *