२०८१ वैशाख २३ गते | 5th of May 2024

भिजिट भिषामा कडाई गर्दै सरकार

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २५ गते १४:०६

काठमाडौं- सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने गृहकार्य अगाडि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले पछिल्लो समय भिजिट भिसाको दुरुपयोग भएकोले यसलाई नियन्त्रण गर्न छलफल अगाडि बढाइएको जानकारी दिनुभयो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले काम गरिरहेको उहाँले बताउनुभयो । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको विभागको भनाइ छ ।

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने गरी विभाग छलफलमा जुटेको हो । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ । पछिल्लो समय खाडी मुलुकको युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना देखा पर्ने गरेका छन् । सरकारले कोरोनाको कारण समस्यामा परी स्वदेशमा उद्वार गर्ने सबै भन्दा बढी नेपाली युएईबाट रहेको छ । घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य रहेको महानिर्देशक केसी बताउनुहुन्छ ।

कामदार भिसामा पठाउँदा हाल कोरोनाको कारण प्रक्रिया लामो हुने भएकाले केही कम्पनीले पनि युएईमा भिजिट भिसामा पठाउने गरेको सूचना समेत आइरहेको विभागको भनाइ छ । त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक केसी बताउनुहुन्छ । भिजिट भिसामा विदेश जाने नेपालीको हकमा यूरोप र अमेरिकाको हकमा कुनै समस्या नरहेको विभागको ठहर । उक्त देशहरुले भिसा दिंदा नै उनीहरुको जिम्मेवार लिन्छन् कुनै विरामी वा कुनै समस्या परे जिम्मेवारी लिने गरेको उहाँ बताउनुहुन्छ ।भिजिट भिसामा जानेहरु मध्ये बढी खाडी र मलेसिया मुलुकहरुमा समस्या आउने गरेको भन्दै उक्त देशहरुमा जानेहरुलाई कडाई गरिँदै आएको विभागको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *