काठमाडौं २७ असार । नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक मंगलबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा हेडक्वार्टर बैठक बसेको थियो। बैठकले दोस्रो चरणको निर्वाचनमा पार्टीले अपेक्षा अनुसारको परिणाम हासिल गर्न नसकेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
पार्टी एकताको भाव जनस्तरसम्म राम्रोसँग सम्प्रेषण गर्न नसकिएको, संगठनात्मक व्यवस्थापन गर्न नसकिएको, पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरुलाई जनतासम्म प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसकेको र अहिलेको निर्वाचनमा निम्न वर्गका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्न निकै चुनौतिपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबारे प्राप्त रिपोर्ट, सरकार सञ्चालन र संविधान संशोधन विधेयक लगायतका विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए।